क्लिन फिड आजदेखि कार्यान्वयनमा, विदेशी च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न नपाइने

0

काठमाडौं : नेपालमा प्रसारण भइरहेका विदेशी टेलिभिजन च्यानलहरूमा अब विज्ञापन प्रसारण गर्न नपाइने भएको छ । गत वर्ष कात्तिक आठ गते प्रमाणीकरण भएको विज्ञापन नियमन ऐन, २०७६ मा भएको व्यवस्था बमोजिम आजदेखि नेपालमा पहिलोपटक क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलको प्रसारण लागू भएको हो ।

नेपाली विज्ञापन बजारको प्रवद्र्धन गर्ने उद्देश्यसहित विज्ञापन ऐनमै विदेशी च्यानलमा विज्ञापन प्रसारणमा रोक लगाउने गरी व्यवस्था गरिएको हो । ऐनले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन प्रमाणीकरण भएको मितिदेखि एक वर्षभित्र अर्थात् २०७७ कात्तिक ७ सम्मको समय उपलब्ध गराएको थियो ।

ऐन अनुसार शुक्रबार रातिसम्म विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले विज्ञापनरहित च्यानल प्रसारण गर्नुपर्ने छ । त्यस्तै विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले अबदेखि डबिङ गरेर पनि प्रसारण गर्न पाउने छैनन् ।

कानुनमा भएको व्यवस्था अनुसार आजदेखि विज्ञापन रहित प्रसारण लागू भएको र त्यसैअनुसार पूर्ण रूपमा सहयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई आग्रह पनि गरेको छ । तोकिएको मितिमा विज्ञापनरहित प्रसारण नभएमा कानुनअनुसार कारवाही हुने सञ्चार मन्त्रालयले जनाएको छ ।

विज्ञापन ऐनले शुक्रबारपछि विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापन प्रसारण भएमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने व्यवस्था गरेको छ । क्लिन फिडसहित विज्ञापन ऐनमा भएका सम्पूर्ण व्यवस्थालाई कार्यान्वयन गराउन सरकारले विज्ञापन बोर्ड पनि गठन गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.