प्रधानमन्त्रीद्वारा शुभकामना सन्देशमा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नक्सा प्रयोग

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्सा प्रयोग गरेका छन् । सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले लिम्पियाधुरा नसमेटिएको नक्सा प्रयोग गरेका हुन् ।

प्रधानमन्त्रीले प्रयोग गरेको तस्वीरमा नेपालको निशान छाप अंकित गरिएको भएपनि उक्त छापमा रहेको नेपालको नक्सामा हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग समेटिएको छैन ।

प्रधानमन्त्री ओलीले नै लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा प्रयोग गरेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।

लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने शर्माले उल्लेख गरेका छन् । उनले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारीछ कि प्रधानमन्त्रीको नेतृत्वमा विसर्जन भयो भन्दै प्रश्न समेत गरेका छन् ।

सामाजिक सञ्जालमा शुभकामनाको विरोध भएपछि ओलीले नयाँ शुभकामना सन्देश सामाजिक सञ्जालमा पोष्ट गरेका छन । त्यसमा भने लिम्पियाधुरा सहितको भुभाग समेटिएको नक्सा प्रयोग भएको छ । त्रुटिपुर्ण नक्सा प्रयोगका विषयमा प्रधानमन्त्री ओली र उनको सचिवालयको तर्फवाट कुनै प्रतिक्रिया आएको छैन ।

Leave A Reply

Your email address will not be published.