वाग्मतीको मुहानबाटै दिसापिसाब

0

काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा वितरण हुने वाग्मतीको पानीमा मुहानबाटै दिसापिसाबलगायत फोहर मिसिएर आउन थालेपछि प्रशोधनमा बढी बजेट, समय र जनशक्ति लाग्ने गरेको छ । स्रोतबाट आएको पानीलाई पिउनयोग्य बनाई वितरण गर्नुपर्ने भएकाले यस्तो खर्च व्यहोर्नुपरेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पानी गुणस्तर महाशाखा प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
“यो खर्चबाट मुक्त हुनका लागि पानीको मुहानमाथिको बस्ती हटाइनुपर्छ, पानीको स्रोतलाई संरक्षण गरेर राखिनुपर्छ, दिसापिसाब मिसिएको पानी आउँदा कोलिफर्म हट्ने गरी प्रशोधन गर्नुपर्ने भएकाले बढी खर्च लागेको हो, बस्ती सारे यो खर्च कम हुन्छ,”–उहाँले भन्नुभयो ।
पानी प्रशोधनका लागि मात्र लिमिटेडले आर्थिक वर्ष २०७०÷७१ मा रु एक करोड दुई लाख ३३ हजार, आव २०७१÷७२ मा रु. एक करोड ५२ लाख ३५ हजार खर्च भएको महाप्रबन्धक चन्द्रलाल नकर्मीले जानकारी दिनुभयो । “चालु आ व २०७२÷७३ मा रु एक करोड ८१ लाख ४५ हजार रासायनिक पदार्थ पानी प्रशोधनका लागि लाग्ने प्रारम्भिक अनुमान गरिएको छ,” उहाँले भन्नुभयो ।
प्रशोधनको बजेट रासायनिक पदार्थमा भएको मूल्यवृद्धिले भन्दा पनि पानीमा मिसिने प्रदूषणले बढ्ने गरेको लिमिटेडले जनाएको छ । सङ्कलन केन्द्रमा जम्मा भएको पानी प्रशोधन केन्द्रमा ल्याई सुरुमा फिटकिरी हालेर फटाउने, थिग्राउने, विस्तारै छान्ने त्यसपछि छिटो छान्ने प्रक्रिया पूरा गरेर ब्लिचिङ पाउडर हाली जीवाणु नष्ट गर्ने प्रविधि अपनाइने गरिएको गुणस्तर महाशाखा प्रमुख कार्कीले बताउनुहुन्छ ।
“यो प्रविधिबाट पानी प्रशोधन गरिसकेपछि पिउनयोग्य भएको पानीमा जीवाणु पुरै म¥यो मरेन भनी सुन्दरीघाटको केन्द्रीय प्रयोगशालामा लगी जाँच गरेर मात्र पानी वितरण गरिने भएकाले जीवाणु युक्त पानी हुँदैन तर खर्च धेरै लाग्ने र झन्झटिलो प्रक्रिया पनि अपनाउनु परेको छ,”–उहाँले भन्नुभयो । उपत्यकामा पानी प्रशोधनका लागि बाँसबारी, महाँकालचौर र बोडेमा अत्याधुनिक केन्द्र रहेका छन् । अन्य १८ स्थानमा पनि प्रशोधन केन्द्र रहेको लिमिटेडले जनाएको छ । उपत्यकामा दैनिक सरदर १२ करोड लिटर पानी प्रशोधन हुने गरेको लिमिटेडका प्रबन्धक विजयमान श्रेष्ठले बताउनुभयो ।
प्रशोधन केन्द्रमा काम गर्ने प्राविधिक कर्मचारीको पद रिक्त भएकाले पानी शुद्धीकरणमा समस्या भएको लिमिटेडले जनाएको छ । पानीको गुणस्तर सुधार गर्न प्राविधिक कर्मचारी थप गर्ने र तालिम दिने तयारीमा लागिएको महाशाखा प्रमुख कार्कीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.