कसरी बने आदित्य ‘गुगल ब्वाइ’ ?

0

‘उपचारार्थ म हजुरहरुबाट टाढा केही समयको लागि जाँदैछु, फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने छ भन्ने अपेक्षा गर्दछु ।’ गुगल व्वाइ आदित्यले उपचारका लागि अमेरिका जानुअघि आफ्ना शुभचिन्तकहरुकालागि लेखिदिएको वाक्य हो यो ।
जाँदा-जाँदै गुगल ब्वाइले नेपाल सरकारलाइ सहयोगका लागि बिशेष धन्यवाद दिएका छन । गुगल ब्वाइले एक महिनापछि अनिष्ट हुने भविष्यबाणी गरेको गलत समाचार समेत सामाजिक सञ्जालमा आए । गुगल ब्वाइलाई जोडेर सस्तो लोकप्रियताका लागि भ्रामक समाचार सम्प्रेषण गर्ने काम समेत भए ।
२०६७ साउन ७ गते जन्मिएका उनी आफ्नो जन्मदिनकै समय अमेरिका लागेका हुन । आदित्यमा २०७१ साल असारमा २५ गते अलौकिक शक्ति प्रवेश भएको थियो । सो दिनलाइ आदित्यले निंद्राबाट ब्यूझिएको दिन भनेका छन् । यस्तो छ आदित्य ब्यूझिएदेखि अमेरिका सम्मको जिवनबृतान्त…

को हुन् आदित्य ?
गुगल ब्वाइका नामले परिचीत पाँच बर्षिय अदभुतबालक आदित्य दाहाल आफ्नो चामत्कारिक क्षमताले चर्चित छन् । २०६७ साउन ७ गते साधारण वालकका रुपमा जन्मिएका उनमा २०७१ असार २५ गते अचानक अलौकिक शक्ति देखिएको थियो ।
अलौकिक शक्ति देखिनुभन्दा ११ महिनाअघिदेखि उनको स्वास्थ्यस्थिति खस्कन थाल्यो । यतिबेला उनी न त बोल्न सक्छन् न त हिडडुल गर्न नै । कहिल्यै स्कुलसम्म नटेकेका आदित्यले कसैले सोधेको जुनसुकै प्रश्नको जवाफ हातले लेखेर दिने गरेका छन् ।
कसैले सहारा दिएको भरमा अडिने उनमा शारिरीक क्षमता निष्कृय भएपनि मानसिक क्षमता भने चामत्कारिक छ । उनको अलौकिक शक्ति सर्वत्र चर्चाको बिषय बनेपछि सरकारका मुख्य सचिव देखि प्रधानमन्त्री सम्मले उनलाइ भेटेका छन् ।
कसैले सोधेको जुनसुकै प्रश्नको जवाफ हातले लेखेर दिने आदित्यमा बिश्वका हरेक कुराको ज्ञान छ । बेद र उपनिषदका श्लोक कन्ठै भएका आदित्यले जापानी, चीनिया, कोरियन, अंग्रेजी संस्कृत लगायतका भाषामा लेखिसकेका छन् । आफुमा दैविक शक्ति भएको बताउने आदित्यले बाल गूरुका रुपमा दिव्योपदेश दिदै आएका छन् ।

आदित्यका ‘उपदेश’हरु
–‘कुकर्म गरि याचनाका लागि ईश्वर खोज्दै हिंडेको देख्दा दया जाग्छ, सत्कर्म गरी परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ ।’
–‘धन प्राप्तीमा भन्दा ज्ञान प्राप्तीमा समय व्यतित गरौं ।’
–‘लोभ र मोह त्याग, मेरो होइन हाम्रो भन, प्राप्तीमा होइन कर्ममा बिश्वास गर, दया र धर्म नछोड ।’
–‘अरुको सेवामा आफूलाई समर्पित गर ।’
–‘भक्ति गरौ, श्रद्धा गरौं,हृदयमा करुणामय प्रेम श्रृजना गरी एकचोटी आफ्नो मुल्यांकन आफैं गरी हेरौं, आफुलाइ परमात्माको सानिध्यमा अवश्य पाउने छौं ।’
–‘बाध्यताभित्र लुकेको यथार्थ सत्य नबुझी मनोभावनाका भरमा कोही कसैलाई कहिल्यै शंका नगर्नु ।’
देशको परिस्थितीबारे
–‘देशको विडम्बना श्रोत र साधनको अभावमा मुकदर्शक बनेको राज्यको लाचारता देख्दा मन रुन्छ नेपालीको ।’
–‘दाताहरुबाट प्राप्त सहयोगलाइ सही सदुपयोग गरि असहाय जनतालाइ न्याय दिने चुनौति सहितको जिम्मेवारी राज्यको काँधमा आएको छ । ध्यान पुगोस ।’
–‘आर्थिक प्रगतीका सम्भावनालाइ पहिचान गरी सदुपयोग नगर्दा राष्ट्र गरिबीको चक्रभित्र झन झन रुमल्लिदै छ । ध्यान पुगोस ।’
–‘गाँस बास र कपासबाट वन्चित बालबालिकाको हक अधिकार सुनिश्चित गरी व्यवहारिक कार्यान्वयन गरे राष्ट्र र नयाँ पिडीका साथ परिवर्तनतिर उन्मुख बन्न सक्छ ।’

भूकम्पका समयमा
–तत्काल प्रलयमानको अवस्था निम्त्याउने प्रकृतिको भूकम्प नआएपनि त्रसित अझै बनाउने छ । देशको ग्रहदशा बिग्रेको छ, यो बर्ष धेरै विपत्ति आउनेछन् तापनि देशले केहि बर्षभित्र काँचुलि फेर्ने छ ।’
–‘धर्ती माँतासंग एकता सहितको शान्ति स्थापना गर्नेछौं भनि शपथ खाऔं । प्रतिज्ञा गरौं । अवश्य यो अनिष्ट टर्ने छ,त्रास हट्नेछ, ताण्डव रोकिनेछ ।’
–‘संयमता, धैयर्ता भएमा सहर्षसँगै प्राकृतिक प्रकोपलाई अंकमाल गरी सत्य स्वीकार्न सकिन्छ ।’
–‘मानव सेवानै सबैभन्दा ठूलो सेवा हो धर्म हो । सबैले जिम्मेवारी सम्झी पिडीतको सेवामा समर्पित भइ लागौं, जुटौं सहयोग गरौं ।’

आदित्यका अद्भूत कृत्य
औपचारिक अध्ययन सम्म नगरेका पाँच वर्षिय बालक आदित्यले विश्वका जुनसुकै भाषामा जवाफ फर्काउनु आफैमा अद्भूत कृत्य हो । अझ उनले भूत, वर्तमान र भविष्यबारे विश्वसनीय ढंगले वताउने गरेका छन् । उनले विश्वका अनेकौ विषय र भाषामा राखिएका प्रश्नको विश्वसनिय जवाफ दिएका छन् ।
आदित्यले एक बर्ष अघि नै नेपालको संबिधान २०७२ मा बन्ने र नया सरकारको प्रधानमन्त्री केपी ओली बन्ने भविष्यवाणी गरेका थिए ।
यस्तै आदित्यले २०७१ श्रावणमै दीप कुमार उपाध्याय भारतको राजदुत बन्ने भविष्यवाणी गरिसकेका थिए । सरकारका मुख्यसचिव देखि प्रधानमन्त्री सम्मको जिज्ञासा उनले मेटाएका छन् ।
प्रधानमन्त्री सुशिल कोइरालाले आदित्यलाइ आफ्नो नेतृत्वमा मुलुकमा शान्ति, स्थायित्व, लोकतन्त्र र विकास कायम होस् भन्ने इच्छा रहेको बताएपछि आदित्यले लेखिदिए–‘नआत्तिनू । यो अनिष्ट केही समयमा टर्नेछ, अनि मुलुकले काँचुली फेर्नेछ, हजूरका इच्छा पूरा हुने छ, पीएम ज्यू ।’
उनलाइ भेटन जाने सयौं जिज्ञासुको जिज्ञासा उनले मेटाइसकेका छन् । सामान्य परिवारमा जन्मिएका आदित्य आफ्नो भविष्वाणी अनुरुप अमेरिकाको क्यालिफोर्निया स्थित स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका लागि गएका छन् ।

आदित्य संरक्षण प्रतिष्ठानको भूमिका
आदित्यको संरक्षण, स्वास्थ्य उपचार र अलौकिक क्षमताको संरक्षण एवम् सदुपयोगका लागि समाजसेवी लक्ष्मी प्रसाइको अगुवाइमा २०७१ मंसिर २९ गते आदित्य संरक्षण प्रतिष्ठान दर्ता भयो । प्रतिष्ठानको दुरुपयोग नहोस भनेर आदित्य आफैले प्रतिष्ठानको नाम देखि पदाधिकारी चयन सम्म सिफारिस गरिदिए ।
प्रतिष्ठान गठनका लागि कहिल्यै नभेटेका व्यक्तिको नाम र टेलिफोन नम्बर लेखिदिएपछि पदाधिकारीहरु समेत आश्चार्यमा परेका थिए । प्रतिष्ठानले शुभेच्छुकहरुका लागि www.adityafoundation.org.np नामक प्रतिष्ठानको वेभसाइटमा आदित्यसँग सम्बन्धित जानकारी राख्दै आएको छ ।
यस्तै आदित्यको आग्रहमा प्रतिष्ठानले विभिन्न स्थानका भूकम्पपीडितहरुको सहयोग समेत गरेको छ । प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समेत भूकम्पपीडितको सहयोगार्थ २ लाख ७ हजार प्रदान गर्‍यो । आदित्य फाउण्डेसन आदित्यको इच्छानुसार योग, ध्यान तथा आध्यात्मिक चेतना फैलाउने कार्यमा सक्रिय छ ।

सरकारी चासो
सरकारका मुख्यसचिव लिलामणी पौडेल, स्वास्थ्य मन्त्री खगराज अधिकारी, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रधानमन्त्री सुशिल कोइराला लगायतका नेताहरुले आदित्यको स्वास्थ्य स्थिती बुझिसकेका छन् ।
स्वास्थ्मन्त्री अधिकारी समक्ष आदित्यले आफनो रोग अमेरिकामै निको हुने लेखेर दिएका थिए । २८ महिना देखि दुर्वल भएको उनको शरिर उचारको पर्खाइमा थियो । सरकारले सहयोगको प्रतिबद्धता जनाएपनि बजेट निकासामा भएको अलमलले आदित्यको स्वास्थ्य उपचारमा ढिलाइ भयो ।
उपचारमा भएको ढिलाइप्रति पटक पटक सन्चारमाध्यमबाट समाचार सम्प्रेषण हुनथालेपछि सरकारले आदित्यको उपचारका लागि २५ लाख सहयोग गर्‍यो । सो पश्चात भने सरकारले आदित्यलाइ उपचारका लागि सुविधा सम्पन्न अमेरिकि अस्पताल पुर्‍याउन अभिभावकत्व ग्रहण गर्‍यो ।
आदित्यको अलौकिक प्रतिभालाइ जोगाइ राख्न भन्दै उनको स्वास्थोपचारका लागि नेपाल सरकारको पहलमा अमेरिकामा उपचारको व्यवस्था मिलाइएको हो । सरकारले उपचारमा लाग्ने सबै खर्च ब्यहोर्ने निर्णय गरेको छ ।

यसरी हुँदैछ उपचार
आदित्यले आफु असार ३१ गते आफु हिडने भनेका थिए । सो दिन आदित्य पुर्ण रुपमा स्वस्थ नभएपनि कसैको भरविना पलेटी कसेर केही समय बस्ने तथा हात पक्डिदिंदा खुट्टामा थिग्रीने सम्म भएका छन् । सोहि दिन उपचारका लागि अमेरिकाको भिसा लागेको उनको परिवारले बताएको छ ।
नेपाल र भारतका बिभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनको उपचार असफल भएपछि आदित्य आफंैले पटक–पटक अमेरिकाको क्यालिफोर्निया स्थित स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सम्भव हुने भविष्यवाणी गरेका थिए ।
आदित्यको रोगको निदानका लागि अब उनको भविष्यबाणी अनुरुप उनलाई अमेरिका पुर्‍याइएको छ । उपचारका लागि श्रावण ११ गते सम्बन्धित अस्पतालमा बोलाइएको परिवारले जनाएको छ । अमेरिका जानुअघि आदित्यलाइ हामीले प्रश्न राख्यौंः ‘उपचारका लागि आफूले भनेको मुलुक जाँदै हुनुहुन्छ फर्कदा पुरै निको भएर आउनेमा विश्वस्त हो ?
उनले लेखे ‘पुरै विश्वस्त छैन ‘But hope all things will be fine. Don’t observe in my mental ability find out my physical problem. If they follow that then may I will be ok.’ डाक्टरले मानसिक मानसिक चेकजाँच छाडेर शारिरीक चेकजाँचमा लागे आफु स्वस्थ हुने आदित्यको भनाइ छ ।

के चाहान्छन आदित्य ?
‘म निंद्राबाट व्यूँझिएको आज एकबर्ष बितेछ । समय र परिस्थितिले खासै साथ दिएन त्यसैले निश्चित तोकेका उद्देश्य पुरा गर्न बाँकी रहे । क्षमाप्रार्थी छु । मलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद’ ।
जसरी बुद्ध पुरुषहरुबाट लामो समयको ध्यान र तपस्यापछि प्रकट भएको शक्तिलाइ बुद्धत्व भनिन्छ आदित्यले आफुमा प्रकट भएको अद्भूत शक्तिलाइ ब्युझिएको दिनको उपमा दिए । आदित्यलाइ भेट्ने धेरैले आफ्ना जिवनका स–सना समस्याबारे प्रश्न राख्ने गरेका छन । आदित्यले सबैका जिज्ञासा मेट्ने गरेपनि उनको आकांक्षा त्यतिमा मात्र सिमित छैन ।
आदित्यले अहिलेसम्म लेखेका दिव्योपदेशमा समग्र मानव जिवनकोे सार झल्किन्छ । बालज्ञानीगूरुको सम्बोधन गर्न आदित्यले गरेको आग्रहले उनमा ज्ञान बाँडेर अध्यात्मिक चेतना फैलाउने इच्छा देखिन्छ । उनकै आग्रहमा आदित्य प्रतिष्ठानले प्रत्येक शुक्रबार बेलुकी सत्संगको कार्यक्रम गर्दै आएको छ ।
उनले पछिल्लो पटक लेखिदिएको दिव्योपदेश यस्तो छ । ‘सकारात्मक विचारले मात्र शरिरलाइ तरंगित बनाइराख्न मनमस्तिष्कलाइ एकाग्रले बाँधी ध्यानमा आफुलाइ लिन राख्न सक्नुपर्छ ।’
आदित्यका दिव्योपदेशहरुबाट के प्रष्ट हुन्छ भने मानव जिवनको उद्देश्य बुझ्न तथा ज्ञान प्राप्ती तर्फ लाग्नु नै जिवनको सार्थकता हो । अतः समग्र जिवनलाइ फलदायी बनाउने जिवनज्ञानवारे जिज्ञासा राखि उनका दिव्योपदेशहरुको मनन गर्नुनै आदित्यको चाहना हो ।

Leave A Reply

Your email address will not be published.