पौडेल पक्षमोर्चाबन्दीमा, सिटौला मिलाउँदै

0

 नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ ।

कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । सो समूहले आजसोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ ।

तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किएलगत्तैबाट सभापति र वरिष्ठ नेतासहित पदाधिकारीसँगको भेटलाई अघि बढाएका छन् ।

सो क्रममा शनिबार नै सिटौलाले सभापति देउवालाई भेटेर महाधिवेशनबारे तत्काल निर्णय गर्न र प्रस्ट पार्न सभापतिलाई आग्रह गरेका छन् ।

यस्तै, आइतबार बिहान वरिष्ठ नेता पौडेललाई भेटेका सिटौलाले सभापतिविरुद्धको मोर्चाबन्दीको प्रस्तावलाई भने अस्वीकार गरेका छन् । सिटौलाले सभापतिविरुद्ध कुनै काम गर्नै परे आफ्नै समूहले गर्ने भन्दै अहिले महाधिवेशन प्रभावित हुनेगरी कतैबाट पनि गतिविधि हुन नहुने भन्दै पौडेलको प्रस्ताव अस्वीकार गरेको उनी निकट नेता बताउँछन् । भेटमा सिटौलाले पार्टीभित्रका बेथितिबारे केन्द्रीय समितिबाटै निकास खोज्नसमेत पौडेललाई सुझाएका छन् ।

पौडेल पक्ष भने सभापतिले बनाएका विधानविपरीतका विभाग खारेज गर्नुपर्ने, विभागमा मनोमानी ढंगबाट सदस्य थप्न बन्द गरिनुपर्ने र महाधिवेशनको सुनिश्चितता गरिनुपर्ने भन्दै देउवाविरुद्ध आक्रामक हुँदै आइरहेको छ । यसैगरी, समायोजन, विभाग, क्रियाशील सदस्यता र भ्रातृ संस्थामा मनोमानी रोकिनुपर्ने पौडेल पक्षको माग छ ।

सो समूहले विधानविपरीत गरिएका भनिएका पछिल्ला निर्णय फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रूपमा विरोधपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमूलक कार्यक्रम अघि बढाउने तयारीसमेत गरिरहेको छ ।

पौडेल पक्षीय नेता नवीन्द्रराज जोशीले आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित आज १ बजे पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाइने जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

Leave A Reply

Your email address will not be published.