डा.केसीले दिए दुई साताको अल्टिमेटम

0

काठमाडौं, ९ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले आफूसँग गरेका सहमति कार्यान्वयन गर्न सरकारलाई दुई साताको अल्टिमेटम दिएका छन् । सहमति कार्यान्वयनसहित अरु पाँच बुँदे माग राख्दै उनले पूरा नगरे आमरण अनसन थाल्ने चेतावनी दिएका छन् । केदारभक्त माथेमा संयोजकत्वको कार्यदलले प्रतिवेदन बुझाएको महिना दिन पुगिसक्दा पनि सार्वजनिक तथा कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको भन्दै डा. केसी रुष्ट भएका हुन ।
प्रतिवेदन कार्यान्वयन नहुँदा विगतका अधिकांश उपलब्धि र नेपालको स्वास्थ्य क्षेत्रमा सुधारको ठूलो अवसर पनि गुम्ने भन्दै उनले माग पूरा गर्न ध्यानाकर्षण गरेका हुन । माथेमा प्रतिवेदन कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट निर्णय गरेर आवश्यक नीति र कानून निर्माणका प्रक्रिया थाल्न पनि माग गरेका छन् । साथै विद्यार्थी संख्या र शूल्कजस्ता तत्काल कार्यान्वयन गर्न सकिने बुँदा आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने व्यवस्था गर्न मेडिकल काउन्सिल र विश्वविद्यालयहरुलाई पत्राचार गर्न पनि माग गरेका छन । विगतमा भएका सहमति अनुसार चिकित्सा विश्वविद्यालय विधेयक तत्काल संसदमा पेश गर्नु पर्ने, काठमाडौं विश्वविद्यालयले अनियमिततापूर्वक दिएको सम्बन्धन स्थगन गर्दै विद्यार्थीहरुको उचित व्यवस्थापन गर्नु पर्ने माग डा. केसीको छ ।

Leave A Reply

Your email address will not be published.