शान्ति मिसनमा जान लागेका ३५ सेनामा कोरोना संक्रमण, आज विहान हुनुपर्ने उडान स्थगित

0

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना गर्न लिवियामा जाने नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेका उडान स्थगन भएको छ ।

नेपाली सेनाका अनुसार शान्ति स्थापनार्थ लिविया जान लागेको १ सय १६ जना शान्ति सैनिकमध्ये ३५ भन्दाबढीमा कोरोना पोजेटिभ देखिएपछि आजका लागि तय भएको उडान स्थगन भएको हो ।

युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता थियो । काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई संक्रमण पुष्टि भएको सेनाले जनाएको छ ।

संक्रमण देखिएका व्यक्तिको कन्टयाक ट्रेसिङ गरी उक्त टोलीमा रहने सबैको पुनः स्वास्थ्य परीक्षणपछि मात्र लिबियातर्फ जान उडानको मिति तय गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गएराति आउने र आजै बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको सेनाले जनाएको छ ।

वैशाखमा नै लिबिया जानुपर्ने सो शान्ति सैनिकको टोली कोरोना संक्रमणका कारण चार महिना रोकिएको थियो । अहिलेसम्म एक हजार ३ सय ८३ सैनिकमा संक्रमण पुष्टि भएको छ ।

Leave A Reply

Your email address will not be published.