बिपीको घरमा पार्टी प्यालेस

0

काठमाडौँ महानगरपालिका–८ स्थित जयबागेश्वरीमा रहेको बिपी कोइरालाको पुरानो घरमा पार्टी प्यालेस सञ्चालन गरिएको छ । घर बिपीका भाइ तारिणीप्रसादको भए पनि लगभग पाँच वर्ष यहाँ बस्नुभएकाले काँग्रेस कार्यकर्ता एवम् उहाँलाई चिन्ने जान्नेले उहाँकै घर भनी ठान्ने गरेका छन् । बिपी राष्ट्रिय मेलमिलापको नीति लिई भारतबाट २०३३ पुस १६ गते नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै कारागार जीवनपछि यही घरमा आई बस्नुभएको थियो ।
“बिपी विसं २०३५ देखि २०३९ साल साउन ६ गतेसम्म यही घरमा बस्नुभएको थियो, बीचमा राजनीतिक काममा बाहिर जाने आउने गरे पनि उहाँको मूल थलो यही थियो, यसैले यो स्थल महत्वपूर्ण छ,” काँग्रेस नेता पुरुषोत्तम बस्नेतले भन्नुभयो । “बिपी बसेका बेलामा धेरै मानिस उहाँको घर सोद्धै यहाँ आउँथे, घर उहाँका भाइको भए पनि सबैले बिपीको घर भन्थे, तारिणीकी श्रीमती रोशा र उहाँकी बहिनी पद्मादेवी रेग्मीलाई माइतीले यो घर दिएका हुन्,” जयबागेश्वरीका ७० वर्षीय नानीबाबु पाठकले भन्नुभयो ।
तारिणीको नामको यो घर उहाँको शेषपछि छोरा ज्योतिका नाममा रहेको छ । ज्योतिले यो घर अहिले पार्टी प्यालेसलाई १० वर्षका लागि मासिक रु ५० हजार भाडामा दिनुभएको छ । दुई रोपनी छ आना जग्गामा रहेको सो घर भत्काएर सञ्चालक प्रेमकुमार बर्माले २०६८ साल मङ्सिरपछि ट्रस बनाएर पार्टी प्यालेस सञ्चालन गर्न थाल्नुभएको हो । यही पार्टी प्यालेसमा आज बिपी कोइरालाको ३३औँ स्मृति दिवसको अवसर पारेर ‘जननायक बिपी कोइराला ट्रष्ट’ आयोजना गरेको विचार गोष्ठीमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले शुभकामना सन्देश पठाउँदै बिपी विश्वका राजनेताका समकक्षमा पुग्ने नेपाली राजनेता हुनुभएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाको सन्देश वाचन गर्दै पूर्वमन्त्री बलदेव मजगैयाँले बिपीको प्रधानमन्त्री कालमा पाँच वर्षमा मध्यमस्तरमा नेपालीको जनजीवन पु-याउने लक्ष्य रहेको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले नेपालमा विकासको बहस चलिरहँदा ५० लाख नेपाली विदेश गएर काम गर्नुपर्ने अवस्था सिर्जना हुनुमा विकासको दृष्टिकोण व्यावहारिक नभएको प्रमाणित हुने बताउँदै भन्नुभयो, “विकास कार्यक्रम कार्यान्वयनमा कमजोरी छ, सबै कुरा गैह्रसरकारी संस्थाकरण हुँदा सबैले सजिलो काम मात्र गर्न थालेका छन्, जोखिम लिएर कसैले काम गर्दैन, यसको असर विकास निर्माणमा परेको छ । ”
पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा सुरेश मल्लले २००७ सालको आन्दोलनले नै नेपालमा प्रजातन्त्रको आधार निर्माण गरेकामा अहिले आएको संविधानको मस्यौदामा त्यसको सम्झना नहुनु दुःखद् भएको बताउँदै भन्नुभयो, “बिपीको मार्गनिर्देशन काँग्रेसले बिर्सँदैछ जस्तो लाग्छ, वर्षमा तीन दिन सम्झिने बाहेक केही भएको छैन, बिपीको सोचलाई कार्यान्वयन गर्दै काँग्रेस अगाडि बढ्नुपर्छ । ”
वरिष्ठ अधिवक्ता हरिहर दाहालले मेलमिलापको नीति लिएर फर्किएपछि कारागारमा राखेर सात वटा ज्यान मुद्दा चलिरहेका बेला विशेष अदालतमा बिपीले दिएको बयानमा राजनीतिक र संवैधानिक विचार भएको स्मरण गराउनुभयो । “त्यसबेला वरिष्ठ अधिवक्तात्रय गणेशराज शर्मा, कुसुम श्रेष्ठ र कृष्णप्रसाद भण्डारीसँग विशेष अदालतपछिको खाली ठाउँमा कानुनी सल्लाह लिएर बिपी अघि बढ्नुभएको थियो,” उहाँले भन्नुभयो । विसं २०१५ मा संविधान बनाउन गठन भएको कार्यदललाई बिपीले पटक पटक मार्गनिर्देशन दिनुभएकामा संविधानसभाबाट संविधान बनाउने क्रममा अहिलेका नेताले कुनै भूमिका निर्वाह नगरेको गुनासो पनि उहाँको थियो ।
प्रा डा कुलप्रसाद कोइरालाले बिपीको साहित्यिक व्यक्तित्वका विषयमा विचारपत्र प्रस्तुत गर्दै उहाँका साहित्य वैयक्तिक व्यक्तित्व, मन र सामाजिक तहका विषयमा केन्द्रित भएको तथा साहित्यमा राजनीतिक गन्ध नआएको बताउनुभयो । बिपी कविता लेखनमा स्वच्छन्तावादी धारका कवि हुनुभएको र उहाँले लेख्नुभएका १४ वटा कविता प्राप्त भई प्रकाशित भएको जानकारी पनि कोइरालाले गराउनुभएको थियो । ट्रस्टका महासचिव एवम् सभासद् रामचन्द्र पोखरेलले बिपी अन्तिम समयसम्म बसेको स्थल भएकाले नेपाली राजनीतिमा यस स्थलको महत्व हुने बताउनुभयो ।
– पूर्णप्रसाद मिश्र

Leave A Reply

Your email address will not be published.