पूर्व पश्चिम विद्युतीय रेलमार्गका ५४ वटै ठेक्का रद्द

0

काठमाडौं : विवादित पूर्व पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डका सबै ठेक्का रद्द भएका छन् । रेल विभागले आज सुचना प्रकाशित गर्दै असार तेह्र र सत्र गते निकालिएको चौउन्न वटै प्याकेजको ठेक्का रद्द गरेको जनाएको छ ।

सूचनामा जुनसुकै समयमा ठेक्का रद्द गर्नसक्ने कानूनी अधिकारको प्रयोग गरी ठेक्का रद्द गरिएको उल्लेख छ । झापाको काँकडभिट्टाबाट सुनसरीको इनरुवासम्म एक सय छ किमि माटो भर्ने काम तयार गर्न भन्दै असारमा विभागले बोलपत्र आब्हान गरेको थियो ।

तर सीमित व्यवसायीलाई ठेक्का दिने गरी टेन्डर गरिएको भन्दै त्यसको सर्वत्र विरोध भएको थियो । मूल्य अभिवृद्धि करसहित ३५ अर्बको सो ठेक्कामा यसअघिको ठेक्कामा सहभागि ठेकदारलाई मात्रै प्राथमिकता दिइएको थियो ।

ठेक्कामा मिलेमतो भएको भन्दै मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा समेत परेको थियो । त्यस्तै मुअब्जाको समेत टुंगो नलगाई हतारहतारमा ठेक्का गरिएपछि विरोध हुँदै आएको थियो ।

विभागले असार १३ मा ३० र १७ गते २४ वटा गरेर कुल ५४ वटा प्याकेजमा टेन्डर आह्वान गरेको थियो । जसमा झापामा २४ र सुनसरी, मोरङमा ३० वटा खण्ड समावेश थिए ।

Leave A Reply

Your email address will not be published.