विदेशमा थप तीन नेपालीको मृत्यु, जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

0

लण्डन – विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो।

समितिका अनुसार यो साता बेलायतमा एकजना र युएईमा दुईजनाको ज्यान गएको हो।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो । शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ।

समितिका संयोजक डा सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सीमित संख्या र सामाजिक दूरी कायम गर्न आग्रह गरे।

डा सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरे।

कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गरे। आफूलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा. सापकोटाको भनाई छ।

मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीत संगीत सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे।

कोभिड–१९ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलब्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे।

कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड लगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको छ।

५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार

विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ।

गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो।

Leave A Reply

Your email address will not be published.