कांग्रेसमा देउवा र पौडलको विकल्प को ?

0

काठमाण्डौ – नेपाली कांग्रेसभित्र अहिले सभापतिका मुख्य दाबेदार वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल हुन् । दुवै नेता यसअघि सभापतिको प्रतिष्पर्धा गरिसकेका हुन् । देउवाले अघिल्लो महाधिवेशनमा पौडेललाई पराजित गरी सभापति बनेका थिए ।

यसबीच देशको राजनीतिमा धेरै परिवर्तनहरु भइसकेका छन् जसको असर कांग्रेसभित्र पनि परेको छ । पछिल्लो समय पार्टी सभापति देउवा चौतर्फी दबाबमा परेका छन् । उनलाई फेरि सभापति बन्न चुनौती बढ्ने देखिएको छ । आफ्ना सबैभन्दा नजिकका विमलेन्द्र निधिले साथ छाडेपछि देउवा अप्ठ्यारोमा परेका हुन् ।

निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालासँग निकटता बढाएका छन् । उनको आफ्नै गुट बलियो छ । विशेषगरी तराईमा उनको पकड मजबुत छ । निधिले देउवालाई साथ छाडेमा फेरि सभापति बन्ने सम्भावना कमजोर हुनसक्छ । त्यसमाथि कोइराला परिवार र प्रकाशमान सिंहसँग उनी एकजुट भएर आगामी महाधिवेशनमा गएमा विरासतको राजनीतिले प्रभाव बनाउन सक्छ ।

कोइराला परिवार मजबुत छ । गणेशमान सिंहको त्यागका कारण प्रकाशमान सिंहप्रति काँग्रेसजनको दृष्टिकोण सकारात्मक छ । निधि गान्धीवादी नेता महेन्द्रनारायण निधिका छोरा हुन् । काँग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा सशांक, सर्वोच्च नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र पूर्व महामन्त्री महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिको मिलनबिन्दु भेटियो भने यी तीनजनामध्येबाट नै सभापति बन्ने सम्भावना बलियो हुनसक्छ ।

कांग्रेसभित्र विकास भइरहेको यो घटनाक्रमले देउवा र पौडेललाई कि त अप्ठ्यारोमा पर्नसक्छ कि त सम्मानित कुनै पदमा व्यवस्थापन गरिदिनसक्छ । पौडेलको सालिन र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने भएकाले पनि राष्ट्रपति पदको दाबेदार बनाउनसक्छ । काँग्रेसमा यसरी विकास भइरहेको राजनीतिले नयाँ नेतृत्व स्थापित गर्न सक्छ ।

कांग्रेसभित्र बालकृष्ण खाँड, चन्द्र भण्डारी, एनपी साउद, गोविन्द भट्टराईलगायतको एउटा पुस्ता पनि बलियो पकड भएकामा पर्छन् । अर्कोतर्फ, गगन थापा, प्रदीप पौडेल, रञ्जित कर्णलगायतको पुस्ताको व्यवस्थापन पनि चुनौतीपूर्ण छ । यो दुई पुस्तालाई जसले व्यवस्थापन गरेर बढ्नसक्छ उही नेता बन्ने सम्भावना बलियो बन्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.