पिसिआर रिपोर्ट नहुनेलाई कर्णाली प्रदेश प्रवेशमा प्रतिबन्ध

0

सुर्खेत – कोभिड– १९ संक्रमणको जोखिम बढेको कारण देखाउँदै कर्णाली प्रदेश सरकारले आफ्नो क्षेत्रमा पीसीआर रिपोर्ट नभएकालाई प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । निर्णय आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।

प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिको पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । पीसीआर रिपोर्ट नभएकालाई प्रवेश गर्न बन्देज लगाउने निर्णय गरिएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको उक्त बैठकले स्वदेश तथा विदेशबाट आउने नेपाली नागरिकलाई बेग्लाबेग्लै क्वारेन्टिनमा राख्ने निर्णय समेत गरेको छ ।
छिमेकी भारतबाट फर्किएका नागरिकलाई सीमानाकाका क्वारेन्टिनमा राख्ने तथा क्षमताभन्दा बढी भए मध्यपश्चिमाञ्चल विश्वविद्यालयका भवनलाई प्रयोग गर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ । 

त्यस्तै कर्मचारी र  जनप्रतिनिधि सुर्खेतबाट अत्यावश्यक सरकारी कामले जाँदा र भित्रिँदा पिसिआर परीक्षण गराएर मात्र आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 
बैठकले मास्क अनिवार्य प्रयोग गर्न÷गराउन, समुदायस्तरमा मास्कको व्यवस्था मिलाउन, एक स्थानीय तह एक क्वारेन्टिन वा स्थायी प्रकृतिको आइसोलेशन निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई सहजीकरणको जिम्मेवारी दिएको छ । 

कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यानको कालीमाटी काल्चे तथा कपुरकोट, सुर्खेतको बबई र कुइने नाकामा जाँच कडाइ गर्ने तथा सुर्खेतका पर्यटकीय क्षेत्र गोठीकाँडा र काँक्रेविहारमा चहलपहल बढिरहेकाले त्यहाँ घुमफिरमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ । 
 

Leave A Reply

Your email address will not be published.