गोलेको उपचार खर्च एमाओवादीले ब्यहोर्नेछ : अध्यक्ष दाहाल

0

काठमाडौं, ६ साउन । हाड र नसाको बिरामीका कारण लामो समयदेखि अस्वस्थ रहनुभएकी माओवादी सेनाका पूर्व लडाकु एवम् सञ्चारकर्मी प्रविना गोलेको सबै उपचार खर्च एकीकृत नेकपा(माओवादी)ले व्यहोर्ने भएको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज गोले उपचाररत ललितपुरको ग्वार्कोमा पुगेर उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई समेत आग्रह गर्नुभएको थियो ।
अध्यक्ष दाहालले उपचार खर्चको चिन्ता नलिन आग्रह गर्दै आवश्यक व्यवस्था गरिने वचनसमेत दिनुभएको एमाओवादीका सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)का उपत्यका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
माओवादीले सञ्चालन गरेको दशवर्षे युद्धका क्रममा हात गुमाउनुभएकी गोले हाड र नसाको बिरामीका कारण लामो समयदेखि पीडित हुँदै आउनुभएको थियो । अध्यक्ष दाहालले गोलेको परिवार र अस्पतालमा कार्यरत चिकित्सकसँग समेत छलफल गर्नुभएको सापकोटाको भनाइ छ । अध्यक्ष दाहालसँगै एमाओवादीका सचिव वर्षमान पुन र अन्य शुभेच्छुकसमेत अस्पताल पुग्नुभएको थियो ।
यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता दिपेश पुनको संयोजनमा सुरु भएको प्रविना गोले उपचार कोषमा हालसम्म रु एक लाख सङ्कलन भएको छ । स्वतस्फूर्त रुपमा सहयोग गर्न आफूले आग्रह गरेको जानकारी दिँदै नेता पुनले सहृदयीको सहयोगको अपेक्षासमेत गर्नुभएको छ । गोलेले रेडियो मिर्मिरेमा केही समय सञ्चारकर्मीका रुपमा समेत काम गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.