राजदूतसँग मिलेपछि माधव नजाने

0

काठमाडौं, ६ साउन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जानु अघिल्लो दिन भारतीय राजदूत रणजीत राय र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको निकै लामो गोप्य कुराकानीले एमालेभित्र तरंग उत्पन्न भएको छ ।
भारत भ्रमणका लागि आमन्त्रण गरिएका नेता नेपाललाई भेट्न राजदूत राय उनकै निवास कोटेश्वरमा गएका थिए । दिल्ली पुगेर जे कुरा गर्ने तय भएको थियो, त्यो कुरा राजदूत रायकै तहको भेटघाटले टुंग्याएको समाचार स्रोतले जनाएको छ । स्रोतका अनुसार संविधान निर्माणसँगै नयाँ सरकारका लागि एमालेको तयारीबाट राजदूत रायले कुरा सुरु गरेका थिए । तर माधव नेपालले कूतनीतिक तरिका बुझेनन् । सुरुमा उनी झोक्किए । ‘तपाईलाई आफ्नो सरकारले मेरो धारणा बुझ्न पठाएको कि एमालेको धारणा बुझ्न पठाएको’ भन्ने प्रश्न गरे । रायले मैले व्यक्तिगत रूपमा जान्न चाहेको मात्र जवाफ दिए । सोही जवाफपछि नेपालले नयाँ सरकार गठनबारे मेरो कुनै धारणा नभएको बताएपछि राजदूत रायले वास्तविक कुरा खोले ।
रायले सीमांकनपछि मात्रै विवादरहित रूपमा नयाँ संविधान जारी होस् भन्ने भारतको चाहना रहेको उल्लेख गर्दै यसका लागि भारतले सहयोग गर्ने बताए । ‘संविधान जारी गर्ने समय लम्बिन सक्छ, यसका लागि कांग्रेस र एमाओवादी तयार छन्, एमाले पनि तयार होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने । वरिष्ठ नेता नेपालले पनि एमालेलाई सरकारको नेतृत्व गर्न हतार नभएको उल्लेख गर्दै विवादरहित रूपमा संविधान आउँछ भने सीमांकनका लागि एक÷डेढ महिना पर्खन आफ्नो पार्टी तयार रहेको जवाफ दिए । यसरी दिल्लीमा लगेर जे कुरा भन्नुपर्ने हो त्यो कुरा राजदूत तहमै टुंगिएकाले नेता नेपालको भारत भ्रमण नभएको स्रोतले जनाएको छ ।
उक्त भेटघाटमा पछिल्लो राजनीतिक अवस्था, दलहरूबीच भएको पछिल्लो सहमति, संविधानसभाबाट पारित मस्यौदाले संविधान निर्माणमा पार्ने भूमिका एवं नेपाल–भारत सम्बन्धका विविध विषयमा कुराकानी केन्द्रित भएका थिए । नेता नेपालसंँगको भेटमा राजदूत रायले नेपाल छिटो संविधान निर्माण गरी आर्थिक समृद्धिको बाटोमा द्रुतसाथ अगाडि बढेको हेर्न भारत आतुर रहेको र एक असल छिमेकीका नाताले यसका लागि आवश्यक सहयोग गर्नसमेत तयार रहेको बताएका थिए । त्यति बताउँदै गर्दा उनले तराईमा भएको असन्तुष्टिको बारेमा पनि जिज्ञासा राखे । नेता नेपालले सो विषयमा उनलाई कुनै जवाफ नफर्काएको स्रोतको दाबी छ ।
संविधानको मस्यौदामा व्यक्त असन्तुष्टिका बारेमा पनि उनले जिज्ञासा राखेका थिए । पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणमार्फत अहिलेको संक्रमणकाललाई छोट्याउन र आर्थिक विकासको बाटोमा अघि बढ्न राजनीतिक दलहरूको प्रयास जारी रहेको र छिट्टै यसले पूर्णता प्राप्त गर्न विश्वास व्यक्त गरे । असन्तुष्टिका आवाजलाई मुलुकको बृहत्तर हित र राष्ट्रिय समृद्धिको आधारमा विश्लेषण गर्दै अन्तिम समयसम्म पनि अधिकतम सहमतिको प्रयास गर्ने कुरासमेत उनले बताएको नेता नेपाल निकट स्रोतले जनाएको छ । यो भेटघाटपछि केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना टाढिएको मात्रै होइन, कमजोर भएर गएको छ ।

Leave A Reply

Your email address will not be published.