गणतन्त्र खतरामा पर्दै गएको हो ?

0

काठमाण्डौ – ‘बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु र यो आन्दोलनले गणतन्त्र ल्याउँछु भन्नु उस्तै हो,’ तत्कालिन नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले २०६२ सालतिर दिएको अभिव्यक्ति हो यो । जनआन्दोलन विस्तारै प्रभावशाली हुँदै जाँदा ओलीले त्यो आन्दोलनले गणतन्त्र ल्याउँदैन भनेका थिए । उनी गणतन्त्रको पक्षमा थिएनन् । माओवादीमात्र गणतन्त्रको पक्षधर थियो त्यतिबेला । ओली माओवादीका कटु आलोचक थिए ।

तर, घटनाक्रम यसरी मोडियो कि ओलीले जुन जनआन्दोलनले गणतन्त्र नआउने ठोकुवा गरेका थिए त्यही जनआन्दोलनले गणतन्त्रो ढोका खोल्यो । संविधानसभाको निर्वाचित सभाले गणतन्त्र घोषणा ग¥यो । ओली गलत सावित भए । तर, तिनै ओली संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि भएको तीन तहको चनावमा सफलता हासिल गर्न सफल भए । प्रतिनिधिसभाको चुनावमा सफलतासँगै माओवादीसँग पार्टी एक गर्दै दुई तिहाई सरकारका प्रधानमन्त्री बने ।

ओली गणतन्त्रका प्रधानमन्त्री भएपछि मानिसहरुले पुराना कुरा बिर्सदै गए । तर, अहिले फेरि मानिसहरुले ओलीको गतिविधिमाथि शंका गर्न थालेका छन् । उनी कतै गणतन्त्र ध्वस्त पार्न लागेका त छैनन् ? यो प्रश्न उब्जिन थालेको छ । बुधबार साँझ पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र ध्वंस गर्न उद्यत रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवस मनाइरहँदा उनले ओलीले पुष्पलालको सपना पुरा नगर्ने बरु गणतन्त्र नै ध्वस्त पारिदिने लेखेका छन् । भट्टराईले ओलीमाथि राष्ट्रपति, अदालत, अख्तियार, सेना कब्जामा लिएर विपक्षीलाई सके किन्ने नसके थुन्ने गतिविधि गरेको आरोप लगाए ।

देशमा बेला बेलामा गणतन्त्रमाथि प्रश्न उठ्न थालेको छ । राजा फालेर नयाँ राजाहरुको जन्म भएको गुनासा गर्नेहरु नभएका होइनन् । त्यसमाथि दुई तिहाईको कम्युनिस्ट सरकारको गतिविधिले जनतामा निराशा छाउन थालेको छ । सिंगो सँसार कोरोना भाइरससँग जुधिरहँदा नेकपाले अधिकांश समय सत्तासंघर्षमा बितायो । कोरोना कहरसँग लड्न खर्चिनुपर्ने चिन्तन र ऊर्जा नेकपा नेताहरुको सत्ता ढाल्ने र जगाउने खेलमा खर्चियो । देश प्राकृतिक प्रकोपको समस्या झेलिरहँदा बालुवाटारमा सत्ताको अंकगणितमा बढी ध्यान केन्द्रित भयो । त्यसमाथि राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको झगडामा हस्क्षेपमा उत्रिइन् । उनले तटस्थ भुमिका निभाइनन् । जसले राष्ट्रपति संस्थाप्रति नै प्रश्न उठाउन थालियो । जुन गणतन्त्रका लागि सुखद मानिएको छैन ।

नेकपाभित्र विवाद चर्किइरहँदा र गणतन्त्र प्राप्त भएको १२ वर्ष बित्दा नदीमा धेरै पानी बगिसकेको छ । तर, सत्तामा रहेकाको भुमिकाले धेरै शंका उपशंका बढाएको छ । वर्तमान राजनीति प्रणालीलाई जोखिममा पार्ने खेलहरु भएका छन् । यसप्रति धेरैले गम्भीरता देखाएका छन् । कतिपयले गणतन्त्र नै सखाप पार्न खोजिएको टिप्पणी गरेका छन् । ती मध्ये डा. बाबुराम भट्टराई पनि हुन् । गणतन्त्र धरापमा परेको भन्दै गम्भीरता देखाउन एउटा पक्ष छ । अर्को पक्ष गणतन्त्रमा पुर्नविचार गर्नुपर्ने तर्क राख्दै आएको छ ।

नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले जनमानसमा राजसंस्था नै ठिक भन्ने लाग्न थालेको टिप्पणी गरेका छन् । उनले ३८ औं वीपी स्मृति दिवसमा मङ्गलबार बोल्दै राजसंस्थाप्रति सहानुभूतीभाव समेत प्रकट गरे । त्यसको कारण राष्ट्रपति विद्यादेवी भण्डारीको विवादास्पद गतिविधि मुख्य कारण रहेको औल्याए । सशांकले राजा बरु तटस्थ हुन्थे भन्ने धारणा बन्न थालेको टिप्पणी गरे । राष्ट्रपति विद्या भण्डारी पार्टीको झगडा मिलाउन सक्रिय हुँदा गणतन्त्रमाथि नै प्रश्नहरु उठ्न थालेको बताए । राष्ट्रपति संस्था हो भन्ने बिर्सेर प्रस्तुत हुँदा राजसंस्थाप्रति सहानुभुती बढेर गएको उनको तर्क थियो ।

वीपीपुत्र सशांकको पछिल्लो भनाईले निकै अर्थ राख्छ । गणतन्त्रबारे प्रश्नहरु उठाउने गतिविधिहरु बढिरहँदा कोइरालाको पछिल्लो भनाई सार्वजनिक भएको हो । उनका पिता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई राजाले नै सत्ताच्युत गरेर जेलमा हालेका थिए । तर, तिनै वीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएर भनेका थिए राजा र मेरो घाँटी जोडिएको छ ।

आफूलाई राजाहरुले जतिसुकै दुःख दिएपनि वीपीले नेपालको यथार्थ राजनीतिलाई दृष्टिगत गरी राजसंस्थालाई स्थान दिनुपर्नेमा जोड दिएका थिए । काँग्रेस महामन्त्री कोइरालाले हिन्दु राष्ट्रबारे समेत टिप्पणी गर्दै आएका छन् । उनले हिन्दु राष्ट्र र राजसंस्थाबारे पुर्नविचार गर्नुपर्नेमा जोड दिएका छन् । बेला बेलामा यी दुई मुद्दा उठाउँदै आएका कोइरालाले यही मुद्दा उठाएर काँग्रेसको नेतृत्वको दाबी गर्ने चर्चा पनि चल्ने गरेको छ ।

एकातर्फ ओलीका पछिल्लो गतिविधि वर्तमान राजनीति प्रणालीकै लागि खतरा बन्दै गएको छ । सत्ता कुनै हालतमा नछाड्ने बरु जोखिम मोलेर कडा कदम चाल्ने ओलीको रणनीति रहेको छ । उनीसँग अध्यादेश ल्याएर पार्टी फुटाउने देखि संकटकाल लगाउन राष्ट्रपतिलाई सिफारिश गर्ने सम्मको अस्त्र बाँकी छ । एमाले पार्टी दर्ता गर्न लगाइसकेका छन् । संसदको बजेट अधिवेशन बेलैमा अन्त गरी पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याउने धम्की दिदै आएका छन् । ओली बरु जस्तोसुकै कदम चाल्ने तर सत्ता नछाड्ने अडानमा छन् । यसले ढिलोचाँडो कुनै दुर्घटनाको संकेत गर्दैछ । त्यतिबेला गणतन्त्र नै धरापमा पर्न सक्छ । ओलीले हिजो पनि गणतन्त्रप्रति सद्भाव र इच्छा व्यक्त गरेका थिएनन् । उनका लागि यो परिवर्तनमा खासे मिहेनत परेको पनि होइन । यसैले ओली पद्धति र प्रणालीलाई ध्वस्त पारेर भएपनि सत्ता नछाड्ने सन्देश निरन्तर दिइरहो छन् । यसले भविष्यमा राजाप्रति सहानुभुती बढ्ने र गणतन्त्र नै धरापमा पर्ने अवस्था आउन सक्छ । आखिर राजनीति सम्भावनाको खेल न हो ।

Leave A Reply

Your email address will not be published.