ओली-प्रचण्डबीच सहमति गराउन राष्ट्रपति भण्डारी सक्रिय, माधव नेपाल सशंकित

0

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनले हिजो नेकपा सचिवालय बैठकलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सहमति निकाल्न खोजिन् ।

विश्वस्त स्रोतका अनुसार राष्ट्रपति भण्डारीले दुवै नेतालाई न्युनतम सहमतिको बिन्दु बनाउन मनाउन खोजेकी थिइन् । दुवै नेताको चाहना बुझेर उनले मंसिरभित्र महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको मार्ग खोल्ने गरी सहमति बनाउन खोजेको बुझिएको छ । अहिलेलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजीनामाको एजेन्डा छाडेर एकता महाधिवेशनमा बढ्ने गरी सहमति निकाल्न भनेपछि प्रचण्ड सहमत भएनन् ।

महाधिवेशनपछि प्रचण्ड नै अध्यक्ष बन्ने र ओलीलाई पूरा कार्यकाल प्रधानमन्त्रीमा समर्थन जारी राख्ने गरी सहमति निकाल्न खोजिएको थियो । यसमा प्रचण्ड केही लचिलो भएपनि पूर्ण सहमत नभएको स्रोतले बतायो ।

ओली र प्रचण्डबीच सहमति बनाउने पहल भइरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल सशंकित भएका छन् । उनले दुई अध्यक्षको चोचोमोचो मिलेर मात्र नहुने अभिव्यक्ति सार्वजनिक गरे । उनले ओलीविरुद्ध देशव्यापी अभियान चलाउने चेतावनी समेत दिए ।

ओलीविरोधी क्याम्पभित्र कम्पन आएको सन्देश गइरहँदा प्रचण्डले भने सचिवालयमार्फत् सहमति नभएको खुलाए । उनकी छोरी गंगा दाहालले कुनैपनि विषयमा सहमति नभएको बताइन् । फेसबुकमा हिजोको बैठकबारे जानकारी दिदै गंगा दाहालले लेखेकी छिन्, सहमति खोज्ने क्रममा विभिन्न विषयहरुमा छलफल भएता पनि कुनैपनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं । उनले महाधिवेशन लगायतमा छलफल भएको खुलाइन् ।

ओलीले एकपछि अर्को अस्त्र हान्दै विरोधी क्याम्पलाई कमजोर बनाउन खोजिरहेका छन् । उनले कुनैपनि हालतमा राजीनामा नदिने प्रष्ट पारिसकेका छन् । ओलीवरोधी क्याम्पलाई कमजोर बनाउन व्यक्तिपिच्छे फरक फरक प्रस्ताव लाँदै आएका छन् । तरपनि विरोधी क्याम्प तोड्न सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.