पदको लुछाचुँडीमा नेकपा नेतृत्वः सरकारका काम लथालिङ्ग !

0

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद साम्य हुन सकेको छैन् ।

विवाद समाधानका लागि नेकपाका दुवै अध्यक्षहरु निरन्तर छलफलमा जुटेपनि निष्कर्षमा पुग्न सकेका छैनन् । अहिले दुवै नेता पद बाँडफाँडमा अल्मलिएको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले एक व्यक्ति एक पद कार्यान्वयन गर्नुपर्ने अडान लिएका छन् । त्यस्तै ओलीले आफूले दुवै पद नछोड्ने अडान कसेपछि विवाद साम्य पार्न नेताहरु असफल भएका हुन् ।

‘देश संकटमा छ । चार महिना हुन लाग्यो लकडाउन भएको, कोरोनाको संक्रमण झनै भयावह अवस्थामा पुगेको छ । सरकार पार्टीको विवादमा अल्झिएको छ’, नाम नबताउने सर्तमा ती स्थायी कमिटी सदस्यले भने, ‘जनताको आवाज बोल्ने थलो संसद बन्द छ । अब प्राकृतिक विपत्तिले गाँझ्दैछ । सरकारको तयारी शुन्य छ ।’

त्यस्तै पार्टीको विवादका कारण सरकारका मन्त्रीलेसमेत प्रभावकारी ढंगले काम गर्न नपाएको नेकपाका एक नेताले जानकारी दिए । ‘यो समय सरकार परिवर्तनका लागि उपर्युक्त समय होइन । अहिले त देशको संकटका लागि मिलेर काम गर्नुपर्ने बेला हो । नेतृत्वको विवादले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले नै काम गर्न नपाएको अवस्था छ’, नेकपाका एक नेताले भने, ‘अध्यक्षद्वय ओली र प्रचण्डजीलाई पदको मोह छ त्यो हिसाबले हामीले जनमत गुमाउने निश्चित छ । हामी दोस्रो पुस्ताका नेताहरुले विकल्प खोज्दैछौं । पार्टी एकतालाई कायम राख्नु नै अहिलेको हाम्रो मुख्य चुनौती हो । ’

२० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेपनि नेतृत्वको विवादका कारण बैठकले पूर्णता पाउन सकेको छैन् । नेताहरुले बैठकमा सात वटा विषयवस्तुमा आफ्ना भनाई राख्न पाउने व्यवस्था गरिए पनि सर्वाधिक विवादमा आउको अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसीसी) ले बैठकमा प्रवेश नै पाएको छैन् । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेतृत्वको विवादका कारण बैठकमा तय गरिएका विषयवस्तुले स्थान नपाएको बताए ।

‘निश्चय नै पार्टीको विवादले सरकारका काम कारबाहीमा केही असर त परेकै छ । यो विवादलाई समाधान गर्न अध्यक्षहरु निरन्तर वार्ता र छलफलमा केन्द्रीत हुनुहुन्छ’, उनले भने, ‘बैठकमा एमसीसीको विषयले प्रवेश नै पाएको छैन् । २६ गतेको बैठकले केही निकास दिन्छ भन्ने आशा छ । ’

पटकपटकको स्थायी कमिटी बैठक स्थगित गरेर नेतृत्वले गल्ती गरेको भान अर्का नेकपा नेता भीम रावललाई पनि भइरहेको छ ।

उनले अध्यक्षद्वय अ‍ोली र प्रचण्ड निरन्तर छलफलमा केन्द्रीत भएकाले अहिले नै बोलिहाल्नु उपर्युक्त नहुने जवाफ दिए । ‘आज पनि अध्यक्षहरु छलफलमा जुट्नु भएको छ । २६ गते बैठक बोलाइएको छ । त्यसपछि के हुन्छ अनि के गर्ने भनेर निर्णय हुन्छ’, उनले भने ।

पर्यटनमन्त्री योगेश कुमार भट्टराईले पार्टीको संरचना अझै बनिनसकेको बताएका छन् । उनले नेकपा संक्रमणकालिन अवस्थामा रहेको बताए । उनले महाधिवेशनपछि पार्टी एकता मजबुत हुने बताएका छन् । मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अबको नेतृत्व दोस्रोत पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।

‘अबको नेतृत्व उहाँहरुलाई दोस्रो पुस्तालाई दिनुपर्छ । तर, उहाँहरुले यो मान्नुहुन्न । जबसम्म नेताहरुले चित्तबुझ्दो ढंगले यस्ता प्रस्तावहरु स्वीकार गर्नुहुन्न तबसम्म लागू गर्न निकै कठिन छ’, उनले भनेका छन् , ‘यसको मतलब म र हाम्रो पुस्ता काँतर भएको होइन । हाम्रो पुस्ताले होसियारी अपनाएको हो ।’

त्यस्तै उनले नेकपामा चार पाँच जना शीर्ष नेताहरुलाई हटाएर दोस्रो पुस्ताकालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । तर, यसका लागि सिस्टम बसाल्न आवश्यक रहेको उनले बताए । उनले केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुलाई हटाएर दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.