सयौँ हात्तीको रहस्यम मृत्यु, महामारीको आशंका

0

काठमाण्डौं – अफ्रिकी देश बोत्सवानामा पछिल्लो दुई महिनामा ३५० भन्दा बढी हात्तीको मृत्यु भएको छ । तर हात्तीको मृत्यु हुनुको रहस्य भने खुलेको छैन ।

दक्षिण अफ्रिीक देश बोत्सवानामा गएको मे यता ओकावाङ्गो डेल्टा क्षेत्रमा कम्तिमा ३५० हात्तीको मृत्यु भएको डा. नायाल म्याक्यानले बताएका छन् । डा. म्याक्यान बेलायतमा रहेको नेशनलपार्क उद्धार सहयोगी संस्थाका प्रतिनिधि हुन् ।

अहिलेसम्म जनावरहरु किन वा के कारणले मरिरहेका छन् भन्ने खुलेको छैन । मृत हात्तीबाट लिइएको नमूना परीषणको रिपोर्ट आउन अझै केही हप्ता लाग्ने बोत्सवाना सरकारले बनाएको छ ।

अफ्रिका हात्तीका लागि उपयुक्त बसोबास भएको क्षेत्र हो । तर त्यहाँ लगातार हात्तीको संख्या कमी आउँदै गएको छ । अफ्रिकी हात्तीको एक तिहाई संख्या बोत्सवानामा रहेको छ ।

हात्तीको मृत्यु बारे स्थानीय संरक्षणकर्मीहरुले गएको मे को सुरुमा सरकारलाई जानकारी गराएको डा. नायालले बिबिसीसँग बताएका छन् ।

त्यसपछि डेल्टा क्षेत्रमा हवाई उडान गरी हात्तीहरुको अवलोकन गरिएको उनले जानकारी दिए । मात्रै तीन घण्टाको उडानमा आफूहरुले १६९ वटा मृत हात्ती देखेको डा. नायालले बताएका छन् ।

उनले भने, ‘त्यसको एक महिनापछि थप अनुसन्धानबाट थाहा भयो कि यस्ता धेरै घटना भएका छन्। मृत्यु हुने हात्तीको संख्या ३५० भन्दा धेरै छ ।’

उनले चिन्ता जताउँदै भनेका छन्, ‘एउटै घटनाक्रम वा उही समयमा यति ठूलो संख्यामा हात्ती मर्नु अति असाधारण कुरा हो । खडेरी बाहेकको अवस्थामा यस्तो हुनु कुनै पनि हालतमा सामान्य होइन।’

गएको मे मा बोत्सवाना सरकारले हात्ती मुर्नको कारण चोरी शिकार वा तस्करी नरहेको बताएको थियो । फिज डट ओआरजीका अनुसार मृत हात्तीका दारा निकालिएका छैनन् । सोही कारण यो घटनाको सम्बन्ध तस्करीसँग नरहेको बोत्सवाना सरकारको भनाई थियो ।

डा. नायालले भनेका छन्, ‘हात्ती मात्रै मरेका छन्, अरु कुनै जनावर मरेको देखिएको छैन । यदी तस्करले साइनाइड प्रयोग गरेको भए अरु हात्तीहरु पनि मर्न सक्ने छन् ।’ तर उनले यो पटकको घटना विषादीका कारण भएको भन्ने कुरामा त्यति विश्वस्त हुन सक्ने अवस्था नरहेको बताएका छन् । गएको वर्ष बोत्सवानामा विषादी प्रयोग गरेर कम्तिमा १०० हात्ती मारिएका थिए ।

अहिलेसम्म भएका अनुसन्धानमा हात्तीको मृत्यु विषादी वा रोगका कारण भएको भन्ने खुलेको छैन। हात्तीको मृत्युको प्रकृति हेर्दा उनीहरुको न्यूरोलोजिकल सिस्टममा समस्या भएको देखिएको डा. नायालले बताएका छन् ।

कोभिड–१९ पनि पहिले जनावरमा देखिएको र त्यसपछि मानिसमा सरेकाले हात्तीको मृत्यु कुनै रोगका कारण भएको भए त्यो मासिनमा पनि आउन सक्ने उनले बताएका छन् । डा. नायालले भनेका छन्, ‘संरक्षणको क्षेत्रमा यो पक्कै पनि ठूलो विपद हो, र यो सार्वजनिक स्वास्थ्यको संकट पनि हुन सक्छ ।’

बोत्सवानाको वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागका प्रमुख डा. सिरिल ताओलोले द गार्डियनलाई अहिलेसम्म कम्तिमा २८० वटा हात्तीको मृत्यु पुष्टि भएको बताएका छन् र बाँकीको पहिचान गर्ने काम भइरहेको उनले उल्लेख गरेका छन्। तर उनले अहिलेसम्म हात्तीको मृत्युको कारण भने नखुलेको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.