काठमाण्डौं – कोरोनाको उपचारपछि निको भएर घर पठाइएका सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा पुनःकोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडाैंकाे पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा र छोरामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
संक्रमणमुक्त भइसकेका आमा र छोरामा कोरोना संक्रमण कायमै रहेको आशंका भएपछि उनीहरुलाई आज बुधबार बिहान पुन अस्पताल पुर्याइएको हो। यी दुईसँगै बुहारीलाई पनि अस्पताल लगिएको छ। उनीहरुको थ्रोट स्वाब संकलन गरेर आजै परीक्षणका लागि पठाउने तयारी भएको छ। उनीहरुमा संक्रमण रहे नरहेको आज साँझसम्म रिपोर्ट आउने बताइएको छ।
बेलायतबाट चैत ४ गते फर्किएका उनीहरुमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो। त्यसपछि सनसिटी अपार्टमेन्टमा उनीहरु बस्ने ब्लकमा रहँदै आएका करिब ३ सय जनाको कोभिड १९ परीक्षण गरिएको थियो। उनीहरुमा संक्रमण देखिएको थिएन।
कोरोना संक्रमण नदेखिएपछि बुहारी वैशाख ३ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् भने वैशाख ११ गते आमा र छोरा दुवैमा परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो।
यस्तै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ । मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएर घर फर्किएका रौतहटको इशानाथ नगरपालिका ८ का बच्चा अन्सारीलाई ७ दिनपछि पुनः कोरोना संक्रमणको पुष्टि भएको हो ।मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले वीरगञ्जमा उपचारपछि निकाे भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएकाे जानकारी दिए ।