सांसद र पूर्व आईजिपीलाई पक्राउ गरेर अपहरण मुद्दा चलाउन नेपाली कांग्रेसको माग

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल कांग्रेसले चौतर्फी विरोधपछि सरकारले अध्यादेश फिर्ता लिए पनि संघीय समाजवादीका सांसद अपहरण गर्ने दोषीलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अपहरणका दोषीलाई कारबाही गर्न माग गरेका हुन् । अध्यादेश फिर्ता हुँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नहुने कांग्रेसको भनाइ छ । अपहरणमा संलग्न नेकपामा दुई सांसद महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई पक्राउ गरेर अपहरण मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ ।

‘चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रस्ट भइसकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपिल गर्दछ,’ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैँ विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन । नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो–कोहीको संलग्नता रहे पनि इमानदार कानुनी कारबाहीका लागि अपिल गर्दछ ।’

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपाका नेता भिम रावल, रामकुमारी झाँक्रि लगायतले समेत उनीहरुमाथि कानूनी कारबाहीको माग गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले अपहरण शैलीमा सांसदलाई काठमाडौैं ल्याउनेहरुमाथि कारबाहीको माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.