अवकाशपछि सर्वेन्द्रलाई लाग्यो सांसद अपहरणको आरोप

0

काठमाण्डौं – गत माघ २८ गते प्रहरी महानिरीक्षक (आईजीपी) बाट अवकाश पाउँदा सर्वेन्द्र खनालको कार्यकालको समीक्षा भयो, उनको नेतृत्व विवादरहित थिएन ।

बहुचर्चित निर्मला हत्याकाण्ड, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रहरीबाटै हुनुदेखि प्रहरी संगठनका भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यालयमै छापा हानेर कागजात नियन्त्रणमा लिएको घटनाले खनालको नेतृत्व बदनाम थियो ।

उनी अवकाश हुनुअघि नै बर्खास्त गर्नुपर्ने आवाज समेत उठेका हुन् । कार्यकुशलता प्रदर्शन गर्न नसकेपनि उनले जेनतेन राजनीतिक नेतृत्वलाई खुशी पारेर पद जोगाउन सफल भएका थिए । उनी कुनै स्पष्ट आरोप लागेर बर्खास्त नभएपनि उनको कार्यकाल बदनाम नै थियो ।

पूर्व आईजीपी खनाल गुमनाम भएर अवकाश जीवन बिताउलान् भन्ने धेरैको अपेक्षा थियो । तर उनी बदनाम हुन छाडेनन् । बुधवार पूर्व आईजीपी खनालको नाम गम्भीर अपराधको घटनामा मुछियो – समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवको अपहरण गरेर पार्टी फुटाउन प्रयास गरेको । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, सांसद महेश बस्नेत र खनालको नाम मुछिएको छ ।

राजनीतिक खिचातानीमा राजनीतिक नेतृत्वको नाम मुछिनुलाई सामान्य मानिएपनि देशको व्यावसायिक र स्वतन्त्र प्रहरी संगठनको नेतृत्व गरेर हालसालै अवकाश पाएका व्यक्तिले राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष सहभागी हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ । खनालले अवकाश पाएको ३ महिना पनि पूरा भएको छैन ।

समाजवादी पार्टी फुटाउने ‘षड्यन्त्र’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाललाई फुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएको कुरा विवादमा रहेका बेला पूर्व आईजीपी खनाल समेत त्यसमा जोडिएका छन् । पार्टी फुटाउन आवश्यक पर्ने संख्या जुटाउन २ नम्बर प्रदेशमा रहेका सांसद सुरेन्द्र यादवलाई काठमाडौंसम्म ल्याउन खनालले प्रत्यक्ष भूमिका खेलेका छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेका बेला खनालले तराई पुगेर यादवलाई काठमाडौं पु¥याएका छन् ।

समाजवादी पार्टीले यसलाई अपहरणको संज्ञा दिएको छ । पार्टीका प्रचार विभाग प्रमुख विश्वदिप पाण्डेयले अपहरणमा पूर्व आईजीपी खनालको संलग्नताबारे खुलासा गर्दै भनेका छन्, ‘ बुधवार दिउँसो डा. सुरेन्द्र यादव महोत्तरीस्थित घरमा बसिरहेका बेला पूर्व आईजीपी सर्वेन्द्र खनालले फोन गरेर म तपाईंको गाउँनजिक छु, घरमा आउँदैछु भने । नेकपाका सांसद किसान श्रेष्ठ र महेश बस्नेतसँगै गएका खनालले डा. सुरेन्द्रलाई फोन गर्नुअगावै पीएसओमार्फत सुरेन्द्रको घरको लोकेसन लिइसकेका थिए । सुरेन्द्रको घरमा गएपछि नेकपाका सांसद र खनालले घुमाउरो भाषामा धम्की दिँदै काठमाडौं जान दबाब दिएको पाइयो ।’ खनालले भने आफूले सांसद यादवलाई जनकपुरबाट काठमाडौं ल्याएको भएपनि ‘अपहरण’ नगरेको दाबी गरेका छन् ।

लकडाउनका बेला पार्टी फुटाउन सांसदलाई जनकपुरबाट काठमाडौं ल्याउन भूमिका खेलेका खनाललाई कारवाही गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग गरेका छन् । बिहीवार ट्विटरमा भट्टराईले लेखेका छन्, ‘देशको पूर्व सुरक्षा प्रमुखले यति गम्भीर कुरामा यस्तो नकच्चरो र काइते तर्क गर्न मिल्छ ? अपराध अनुसन्धानका ज्ञाता पूर्व आईजीपीले बताइदिनुप¥यो – कुन चोरले शुरूमै आफूले चोरेको स्वीकार गर्छ ? यिनले कुन हैसियतमा र कसको आदेशमा यस्तो हर्कत गर्न तम्से ? यसको निष्पक्ष छानबिन र कारवाही हुनुपर्छ ।’

नियुक्ति पाइने लोभमा बदनाम !

प्रधानमन्त्री ओलीले पार्टी फुटाउने प्रयोजनका लागि सुटुक्क अध्यादेश ल्याएको र खनालले सांसद यादवलाई काठमाडौं पु¥याएर गरेको काम निरर्थक हुने भएको छ । तर उनको संलग्नतामाथि चौतर्फी प्रश्न उठेको छ । एकातिर राजनीतिक गतिविधि, अर्काेतिर पार्टी टुटफुटको कार्यमा व्यावसायिक संगठनको अवकाश प्राप्त व्यक्ति संलग्न हुनुलाई गम्भीर रुपमा हेरिएको छ ।

पूर्व आईजीपी खनाल पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त पदमा नियुक्त हुन लविङमा छन् । प्रधानमन्त्री ओलीलाई खुशी पारेर आयुक्त हुन खनाल अराजनीतिक काममा लागेको हुनसक्ने स्रोतको विश्लेषण छ । सांसद यादवले समेत लकडाउन खुलेपछि भेट्ने बताएका आईजीपी खनालसहितको टोली एक्कासी जनकपुर आएको देख्दा आश्चर्यमा परेको जनाएका छन् ।

सरकारलाई खुशी पार्न विप्लवमाथि अनावश्यक दमन गरेको आरोप लागेका खनालले अवकाशपछि पनि सरकारको सेवाका लागि बदनाम हुन छाडेका छैनन् । उनका क्रियाकलापले सरकार खुशी भएर आयोग लगायतमा नियुक्त गरेपनि उनले स्वतन्त्र र व्यावसायिक काम गर्लान् भन्नेमा शंका गर्ने ठाउँ देखिएको छ ।

Leave A Reply

Your email address will not be published.