विपक्षी दलको निष्कर्ष: सरकार निरंकुश शासनतर्फ उन्मुख, संसद अधिवेशन बोलाउन माग

0

काठमाण्डौं – विपक्षी दलहरुले सरकारले जारी गरेको दुई अध्यादेश लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको निष्कर्ष निकालेको छ।

सरकारले जारी गरेको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यतालाई समाप्त पार्दै निरंकुशतार्फत उन्मुख भएको विपक्षी दलहरु कांग्रेस, राजपा, समाजवादी र राप्रपा ठहर गर्दै यसको प्रतिवादत गर्न आह्वान गरेका छन्।

‘वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन भएकोले यसको घोर निन्दा गर्दछौं। ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरुलाई हामीले लिएका छौँ। यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ, चार दलले भनेका छन्।

सरकारले सोमबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) र राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेको थियो। विपक्षी दलहरुले राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई सरकारको अधिनायकवादी उन्मुख कदमहरुप्रति थप चनाखो भई लोकतन्त्र विरोधी र जनविरोधी कामहरुका विरुद्धमा सचेत र जागरुक हुन अपिल समेत गरेको छ।

विपक्षी दलले सरकार कोरोना नियन्त्रणका लागि संवेदनशील नभएको र पक्षपात पूर्ण ढंगले अघि बढिरहेको आरोप लगाएको छ।

‘सरकार राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरुलाई दु्रत गतिमा जाँच, र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकहरुप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएकाप्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ, चार दले भनेका छन्।

संसद बैठक बोलाउन माग

विपक्षी दलहरुले संघीय संसदको अधिवेशनसमेत तत्काल बोलाउन माग गरेका छन्। उनीहरुले सामाजिक दूरी कायम गर्दै संसद अधिवेशन बोलाउन माग गरेका हुन्।

चार पार्टीका अध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको, ‘राष्ट्रपतिबाट जारी यी अध्यादेशहरुले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्ममा आक्रमण गरेकोले सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ।’ उनीहरुले सरकारको कदमबारे संसदबाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय गरेको छ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकमा सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला सहभागी थिए।

त्यस्तै राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरदसिंह भण्डारी, समाजवादी पार्टीबाट डा. बावुराम भट्टराई, उपेन्द्र यादव, र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणा सहभागी थिए।

Leave A Reply

Your email address will not be published.