अमेरिकामा कोरोना कहर स्थिर, तर ओरालो लाग्ने संकेतः विज्ञ

0

काठमाण्डौं – अमेरिकामा कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको विज्ञले बताएका छन् । ह्वाइट हाउस कोभिड–१९ टास्क फोर्सका विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको संक्रमण स्थिर हुन थालेको र अब केही सयमपछि ओरालो लाग्ने बताएका हुन् ।

डा. डेबोरा बक्सले महामारी स्थिर भएको संकेत गर्ने राम्रा सूचकहरु देखिएको बताएकी छन् । तर अझै पनि संक्रमणको उच्च तहमा भने नपुगेको भन्दै उनले सचेत गराएकी छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकामा पूर्वानुमान गरिए भन्दा कम मृत्यु हुने अपेक्षा रहेको बताएका छन् । अमेरिकामा कोरोना भाइरसका कारण एक लाख मानिसको ज्यान जाने अनुमान गरिएको थियो ।

अहिलेसम्म अमेरिकामा चार लाख ७५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ र मृत्यु हुनेको संख्या १८ हजार भन्दा बढी छ ।

सरुवारोग विशेषज्ञ तथा अमेरिकाको सरुवारोग सम्बन्धी निकायका प्रमुख डा. एन्थोनी फाउचीले संक्रमण स्थिर देखिन थालेको र अब कम हुँदै जाने संकेत मिलेको बताएका छन् । कोरोना भाइरसको संक्रमण तथा यसबाट हुने मृत्यु कम हुँदै जाने उनले बताए ।

महत्वपूर्ण उपलब्धी भए पनि सामाजिक दूरीसहितका रोकथामका उपायहरु भने जारी राख्नु पर्ने उनले बताएका छन् ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएका न्यूयोर्क, न्यू जर्सी तथा सिकागो सिटीमा संक्रमण तथा मृत्यु हुनेको संख्या स्थिर रहन थालेका छन ।

Leave A Reply

Your email address will not be published.