जनावर पनि कोरोना भाइरसको चपेटामा !

0

काठमाण्डौं – अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ । विश्वभरमा अमेरिकामै सबभन्दा धेरै ३ लाख ३५ हजार मानिस सङ्क्रमित भएका छन् । त्यहाँ कोरोना भाइरसबाट मृत्यु भएकाको सङ्ख्या ९ हजार ५ सय ६२ पुगेको छ ।

अमेरिकाको न्यूयोर्क शहर कोरोना भाइरस सङ्क्रमणको ‘हट स्पट’को रूपमा देखिएको छ । न्यूयोर्कमा मात्रै अहिलेसम्म २२५६ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच न्यूयोर्कस्थित ब्रोंक्स चिडियाखानामा एक अनौठो मामला देखिएको छ । उक्त चिडियाखानामा रहेको चार वर्षको पोथी बाघ कोरोना भाइरसबाट सङ्क्रमित पाइएको छ । अयोवास्थित नेशनल भेटनरी सर्भिस ल्याबमा गरिएको परीक्षणमा उक्त बाघमा कोरोना पोजेटिभ पाइएको ब्रोंक्स चिडियाखानाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बताइएअनुसार नादिया नाम दिइएको उक्त बघिनीकी बहिनी र अन्य दुई बाघका साथै तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको छ । सो चिडियाखानाकै कुनै कर्मचारीबाट सङ्क्रमण ती जनावरसम्म पुगेको अनुमान गरिएको छ ।

भाइरस सङ्क्रमित ती सबै जनावरमाथि सुक्षम निगरानी राखिएको र अन्य जनावरलाई सुरक्षित तुल्याउने प्रबन्ध गरिएको चिडियाखानासम्बद्ध अधिकारीले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.