नेपालमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण, संक्रमण दोस्रो चरणमा

0

काठमाण्डौं – नेपालमा कोरोना भाइरसका थप तीनजना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) मा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा पहिलोपल्ट कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन् ।

धनगढीमा दुबईबाट आई क्वारेन्टाइनमा बस्न नमानेका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनकै आफन्त महिलालाई शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि कोरोना भाइरसको संक्रमण भएका सबै केसहरु बाहिरबाट आएका महिला तथा पुरुषहरु थिए।

बाहिरबाट आएको केसलाई पहिलो चरणको संक्रमण मानिन्छ भने उनीहरुले नेपालमा आएर नयाँ बिरामीमा संक्रमण फैलियो भने त्यसलाई दोस्रो चरणको मानिन्छ । बाहिर नगएकी महिलालाई पहिलोपटक नेपालमा कोरोना भाइरसको संंक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार कैलालीका दुई र कञ्चनपुरका एकमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो ।

Leave A Reply

Your email address will not be published.