जर्मनीका अर्थमन्त्री वल्फग्याङ स्फेकवले अझै पनि ग्रीसको युरो समूह राष्ट्रबाट अस्थायी निष्कासन नै राम्रो विकल्प भएको जनाउनु भएको छ । ग्रीस युरो समूहबाट बाहिरिँदा कर्जा कटौती गर्न सहयोग पुग्ने र यसबाट ग्रीस आर्थिक सङ्कटको समस्याबाट जोगिने छ । बर्लिनको यो भनाई ग्रीसका बहुमत सांसदले ऋण सङ्कट समाधानका निम्ति युरोपियन युनियनद्वारा राखिएका सर्तहरूलाई संसदबाट अनुमोदन गरेपछि आएको हो । यसअघि ब्रसेल्सले नयाँ आर्थिक सहायता प्याकेजबारे वार्ता हुनुअघि ती सर्तहरूलाई स्वीकार्नुपर्नेमा जोड दिएको थियो ।
ग्रीक प्रधानमन्त्री एलेक्सिस सिप्रासले आफ्नो सम्बोधनमा ती कदमप्रति आफूलाई विश्वास नभए पनि युरो मुद्रा प्रचलनमा रहेको युरो क्षेत्रभित्र ग्रीस नरहने हो भने त्यसलाई अनुमोदन गर्नुको विकल्प नभएको बताएका थिए । दुई सय २९ जना सांसदले सर्तको पक्षमा र सर्तप्रति असहमति जनाउँदै गतहप्ता राजीनामा दिने पूर्व अर्थमन्त्री यानिस भारूफनिससहित ६४ सांसद सर्तको विक्षमा मतदान गरेका थिए ।
सिप्रासले बैंकहरूलाई धरासायी हुनबाट र ग्रीसलाई थप बर्बादीबाट जोगाउनका निम्ति आफूले ‘तर्कहीन सर्तहरूलाई कार्यान्वयन गर्न चाहिरहेको बताउनुभयो ।’मतदानमा सिप्रासको सिरिजा पार्टीका करिब ३० सांसदले विपक्षमा उभिएको पनि बताइएको छ ।