आज होली पर्व, कोरोनाको डरले शान्त काठमाण्डौं

0

काठमाण्डौं – उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंंडिखेलमा लगी जलाउँछन् ।

उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रंगीचंगी ध्वजापताका साथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।

यस वर्ष कोरोना भाइरसको प्रभावका कारण प्रशासनले होलीमा पानी नखेल्न तथा समुहमा समेत भेला नहुन अपील गरेका कारण होलीको चहपपहल गत बर्षहरुको भन्दा शान्त देखिएको छ। नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

Leave A Reply

Your email address will not be published.