समाजवादी राजपा एकीकरण छिट्टै, प्रदेश २ सरकार सरकार परिवर्तन हल्ला मात्रै: यादव

0

काठमाण्डौं – राष्ट्रियसभा निर्वाचनको लागि राष्ट्रिय जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच सहमति भएसँगै टाढा धकेलिएको भनिएको समाजवादी राजपा एकीकरण छिट्टै हुने समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन ।

प्रेस नेपाल मोरङद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले प्रदेश २ को सरकार परिवर्तन गर्ने कुरा हल्ला मात्र भएको टिप्पणी गरे । ‘प्रदेश २ को सरकार विरुद्ध कुदृष्टि लगाउनेहरू निकै छन तर पनि राजपा सँगको सहकार्यमा यो सरकार पूरा अवधी सञ्चालन हुन्छ ।’ अध्यक्ष यादवले भने ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यादवले सबै नेपालीको चाहनाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै विश्वमा संविधान संशोधन भएको इतिहास रहेको तर्क गरे । सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने उनको धारणा थियो ।

आफ्नो पार्टी संविधान संशोधनको शर्तका आधारमा सरकारमा सहभागी भएको तर संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको भनी उनले आफ्नो बचाउ गरे । संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरु गर्ने पनि यादवले बताए ।

संसद्प्रति उत्तरदायी हुनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर पूर्वाग्रहको आधारमा कारवाही गरेको आरोप लगाउँदै अध्यक्ष यादवले उक्त संवैधानिक निकायले सबैलाई समान व्यवहार गर्नुपर्ने र प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने अभिव्यक्ति दिए ।

Leave A Reply

Your email address will not be published.