केपी ओलीलाई मैले घेरेको छैन : प्रचण्ड

0

काठमाण्डौं – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई घेराउ नगरेको बताएका छन् । कान्तिपुर कनक्लेभमा ‘प्रचण्डसँग परिसंवाद’ सत्रमा उनले सरकार संचालनका लागि सरकारलाई सहयोग गरिरहेको बताएका हुन् ।

चुनाव पहिला नै ओलीलाई प्रधानमन्त्री घोषणा गरेर आएकाले सरकार संचालनमा पूर्ण सहयोग गरिरहेको दाहालले बताएका हुन्। उनले ओलीलाई पाँच वर्षको कार्यकाल नै प्रधानमन्त्री रहेर सञ्चालन गर्न भनेकाले त्यसमा सहयोग नै गरेको बताए। आफूलाई प्रधानमन्त्री बन्न हतारो नभएको र आगामी दिनमा मुलुक राम्रोसँग संचालन हुने भए आफू प्रधानमन्त्री नबनेपनि सन्तुष्ट रहने दाहालको भनाइ थियो।

एमसीसी र सरकारका कामलाई लिएर प्रधानमन्त्रीलाई काम गर्न नदिएको हो भन्ने कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्माको प्रश्नमा दाहालले सरकार संचालनमा कुनै पनि असहयोग नगरेको बताएका हुन्। वर्तमान सरकार विगतको जस्तो सामान्य सरकार नभएको दाहालको भनाइ थियो। जनताले वर्तमान सरकारबाट जनताले विकास र सुशासनका क्षेत्रमा र दैनन्दिक जीवनमा परिवर्तनको अपेक्षा गरेको उनले बताए।

सरकारले अनर्राष्ट्रिय सम्बन्ध विस्तार र ठूला पूर्वाधार निर्माणमा सकरात्मक काम गरिरहेको बताउँदै दाहालले सरकारले केही गरेन भन्ने कुरा गलत भएको बताए। तैपनि जनतामा सरकारका कामलाई लिएर असन्तुष्टि रहेको भने उनले स्वीकार गरेका थिए। उनले भने, ‘सरकारले केही गरेन भन्ने त होइन तर जति तीव्र गतिमा जनतालाई राहत, विकास खोजेका थिए त्यो भएको छैन भन्ने परेको छ।’ ‘अब सरकार र पार्टीले आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्छ भन्ने लागेको,’ दाहालको भनाइ थियो।

नेकपाभित्र पार्टीले सरकार चलायो भन्ने आलोचना बढिरहेको बेला अध्यक्ष दाहालले भने पार्टीले सरकार चलाउनुपर्ने धारणा राखेका छन्। नेकपा केन्द्रीय समिति बैठकमा सरकारले पार्टी चलाएको भन्दै विरोध भएको थियो। विचारले सत्ता चलाउने कि सत्ताअनुसार विचार तय गर्ने तथा कम्युनिस्ट पार्टीले सत्ता चलाउने हो सत्ताले पार्टी होइन अनि द्वन्द्वकालमा बन्दुकले पार्टी नभइ पार्टीले बन्दुक चलाएको उल्लेख गर्दै दाहालले पार्टीले सरकार चलाउनुपर्ने बताएका हुन्।

अध्यक्ष दाहालले अमेरिकासँग भएको एमसीसी सम्झौता पहिल्यै पारित भएको भए अहिले विवाद हुने थिएन भनेका छन्। उनले भने, ‘एमसीसी सम्झौता भएलगत्तै पारित भएको भए यसमा विवाद हुने थिएन।’ आफू दोस्रोपटक प्रधानमन्त्री भएको बेला पूर्वाधार र विकासका लागि अमेरिकाले ५५ अर्ब अनुदान दिएको विषयलाई सकारात्मक रूपमा लिएको दाहालले बताए।

दाहालले अब एमसीसीबारे व्यापक छलफल भएर विवाद निरुपण गरी पारित गर्नुपर्ने बताए। उनले भने, ‘समयमा नै अगाडि नबढ्दा जनस्तर र बौद्धिक तहमा व्यापक बहस भयो। अब राष्ट्रको हितमा बनाएर अगाडि बढाउनुपर्छ। परिमार्जनको गुञ्जायस छ र यो इन्डो प्यासिफिकसँग सम्बन्धित होइन भन्ने प्रष्ट पारिएपछि पारित गर्नुपर्छ।’

Leave A Reply

Your email address will not be published.