काठमाण्डौं – प्रदेश २ सरकार परिवर्तनको हल्ला चलिरहेको बेला राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र शरदसिंह भण्डारी यतिबेला नयाँ दिल्लीमा छन् । काठमाण्डौ छाड्नु अगावै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर राजपा नेताद्वय दिल्ली यात्रामा निस्किएका हुन् ।
दिल्लीमा प्रदेश २ सरकारको भविष्यलाई लिएर छलफल हुने बुझिएको छ । प्रदेश २ सरकारको बिषयलाई लिएर राजपा भित्र विवाद रहेको बताइन्छ । अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादव र अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर समाजवादी, राजपा गठबन्धनको पक्षमा छन् भने अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा र शरदसिंह भण्डारी भने समाजवादी राजपा गठबन्धन तोडेर नेकपा राजपा गठबन्धन बनाउनुपर्ने पक्षमा छन् ।
प्रदेश २ सरकारको बिषयलाई लिएर राजपा अध्यक्ष मण्डलका सदस्यहरू महतो र भण्डारीले प्रधानमन्त्री ओलीसँग विभिन्न चरणमा छलफल समेत गरेको कुरा सार्वजनिक भएको छ । प्रदेश २ सरकार परिवर्तनबारे नेकपा र राजपा सहमतिमा पुगिसकेका भने छैनन् । प्रधानमन्त्री ओली राजपाको संघीय सरकारमा सहभागीता, उपसभामुखको चयन सहित प्रदेश २ सरकारबारे प्याकेजमै सहमति गर्नुपर्ने अडानमा हुँदा निर्णय हुन नसकेको बताइन्छ ।
संघीय सरकारमा राजपाको सहभागीताको लागि राजपा अध्यक्ष मण्डलका चारै जना सदस्यहरू (महतो, भण्डारी, यादव र झा) मन्त्री बनाउनुपर्ने अडानमा छन् भने प्रधानमन्त्री ओली २ मन्त्रालय सहित उपसभामुख एक संवैधानिक आयोगको प्रमुख राजदूत नियुक्त गर्दा केही देशका राजदूत दिने योजनामा छन् । तर नेकपा गठबन्धन पक्षधर अध्यक्ष मण्डलका चारै सदस्य मन्त्रीको आकांक्षी हुँदा सरकारबारे निर्णय लिन राजपानेताहरूलाई सकस परेको बुझिएको छ ।
सम्भावित नेकपा राजपा गठबन्धन र प्रदेश २ को सरकारबारे भारतीय संस्थापन पक्षको साथ समेत हासिल गर्नुपर्ने बाध्यतामा रहेको नेकपा राजपा गठबन्धन पक्षका दुई नेता यसै बिषयलाई लिएर भारतीय संस्थापनसँग छलफल गरि समर्थन हासिल गर्नको लागि दिल्ली यात्रामा निस्किएको स्रोतले दावी गरेको छ । उता नेकपा राजपा गठबन्धनको विपक्षमा रहेका अध्यक्ष मण्डलका संयोजक महेन्द्र नारायण यादव र सदस्य महतो भने राजपा समाजवादी गठबन्धन बचाउन दौडधुप गरिरहेको बताइन्छ ।
पछिल्लो समय समाजवादी राजपा एकीकरणको लागि दबाब दिइरहेको इण्डो युरोपेली शक्तिका प्रतिनिधिसँग भने महतो र भण्डारीले भेटघाट गर्ने स्रोतले जनाएको छ । पछिल्लो समय चीन निकट देखिएको भन्दै भारतीय संस्थापन तत्काल समाजवादी राजपा एकता चाहाँदैन भने युरोपेली लवी भने तत्काल राजपा समाजवादी एकता तत्काल टुंग्याउनुपर्ने पक्षमा रहेको बताइन्छ ।
राजपा भित्र भारतीय संस्थापनको बलियो पकड रहेको मानिन्छ त्यो सँगै तत्काल राजपा समाजवादी एकता टरेको छ भने प्रदेश २ सरकारको नेतृत्व परिवर्तनको सम्भावना उच्च रहेको बताइन्छ । तर नेकपा सातै प्रदेशको सरकारको नेतृत्व गर्न चाहान्छ भने राजपा नेकपा सत्ताबाहिर नै बसेर गठबन्धन सरकारलाई निशर्त समर्थन गर्न आग्रह गरिरहेको छ ।
पछिल्लो समय पार्टीभित्रै अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले राजपासँगको गठबन्धन कसरी अगाडि बढाउछन् त्यसले पनि प्रदेश २ सरकार सहित संघीय सरकारमा राजपाको सत्तारोहणको आगामी मार्गचित्र प्रष्ट हुनेछ । नेकपाका अध्यक्ष एंब प्रधानमन्त्री ओली राजपासँग सहयात्रा गर्न चाहान्छन भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समाजवादी सँग सहकार्य गर्नुपर्ने पक्षमा रहेको बताइन्छ ।