चीनले भन्यो, ‘ढुक्क हुनुहोस,नेपालीलाई केहि हुँदैन ’

0

काठमाण्डौं – चीनवाट फैलिन शुरु गरेको कोरोना भाइरसले धेरै देश प्रभावित भएका छन् । चीनमा रहेका आफ्ना नागरिकलाई कयौं देशले फिर्ता वोलाएका छन् । नेपाल स्थित चिनियाँ राजदुतावासले भने नेपाली नागरिकको सुरक्षामा चीन सरकार गंभिर भएको विज्ञप्ति जारी गरेको छ ।
आज शनिवार जारी विज्ञप्तिमा कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन चीनले आग्रह गरेको छ ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन् । उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ ।’

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो । त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो ।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं । चीन सरकारले अन्तर्रा्ष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ ।’

विदेशी नागरिकहरुको स्वास्थ्य सुनिश्चित गर्नका लागि हरसम्भव प्रयास गर्ने र सबै पक्षको जायज चिन्ता दूर गर्ने दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’ नेपाली पक्षले कोरोना भाइरसको महामारी रोकथामका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँग समन्वय गरेर चालेका कदमहरुको चीनले प्रशंसासमेत गरेको छ । यदि आवश्यक भएमा नेपाली पक्षले काठमाडौंस्थित चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग पनि यसबारेमा कुराकानी गर्न सक्ने दूतावासले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपालमा चिनियाँ पर्यटकको आगमन प्रभावित हुने भन्दै दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘महामारी नियन्त्रणमा आएपछि धेरैभन्दा धेरै चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्छौं र भिजिट नेपाल २०२० मा योगदान र्पुयाउने छौं ।’ चीनमा नेपालीहरु रोजगार, अध्ययन र ब्यापारका लागि बस्ने गरेका छन् । पछिल्लो पटक भ्रमणमा जाने नेपालीको संख्या पनि उल्लेख्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.