नेकपाको केन्द्रीय वैठक जारी, कार्यकारी राष्ट्रपतिको बिषयमा वहस

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज शनिवार ११ वटा समूहको प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । छलफलका क्रममा कार्यकारी राष्ट्रपति वनाउने नवनाउने बिषयमा वहस शुरु भएको छ ।

समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत गरिरहेका छन् । मध्यान्ह १२ बजेसम्म समूह ३ का नेता खिमलाल भट्टराई, समूह १२ का नेता रेणु दाहाल र समूह ४ का नेता जगन्नथ खतिवडाको प्रस्तुति सकिएको छ ।

यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु बैठकमा बाँकी रहेका समुहका टोली नेता र उपनेताले लिखित निचोड प्रस्तुत गर्न शुरु गरेका छन् । बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गर्नेछ । आज समुहगत सुझाव आएपछि भोली नेतृत्वले जवाफ दिने तथा सचिवालय र स्थायी कमिटीले गरेका निर्णय पारित गर्नका लागि प्रस्तुत गरिने भएको छ ।

बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिकाबारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निक्र्योल गर्नेछ । नेकपा केन्द्रीय समिति बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा समेत बहस भएको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा शासकीय स्वरुप परिवर्तनको विषयमा समेत बहस भएको हो ।

शनिबारको छलफलका क्रममा दुई समूहका टोली नेताले शासकीय रुपरुप परिवर्तनको विषय उठान गरेका छन् । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेता रेणु दाहालले शासकीय स्वरुप परिवर्तनको विषय उठान गरेका हुन् । उनीहरुले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा जोड दिँदै यसले चुनावी प्रक्रियानै कम खर्चिलो बन्ने विचार पेश गरेका थिए ।

हाल प्रधानमन्त्री कार्यकारी र राष्ट्रपति सेरेमोनियल रहने व्यवस्था रहेको छ । कार्यकारी राष्ट्रपतिको पक्षमा विभिन्न दलले समेत आवाज उठाइरहेको बेला नेकपाभित्र पनि यस विषयले औपचारिक रुपमा प्रवेश पाएको हो । बैठकमा सहभागी एक नेताका अनुसार समूहमा कार्यकारी राष्ट्रपतिको पक्षमा जोडतोडले आवाज उठेको छ । सोही छलफलको निष्कर्षका रुपमा टोली नेताहरुले धारणा राखेका हुन् । बैठकमा अहिलेको निर्वाचन प्रक्रिया खर्चिलो हुन पुगेको भन्दै सामान्य आर्थिक अवस्था भएकाले योग्य र क्षमतावान हुँदाहुँदै पनि चुनाव लड्न नसक्ने अवस्था रहेको समेत औँल्याएका थिए ।

बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्तावमाथि समेत समूहगत छलफल भइरहेको छ । केन्द्रीय सदस्यहरु धेरै भएपछि नेकपाले प्रतिवेदनहरुमाथि १५ समूह बनाएर छलफल चलाएको हो । टोली नम्बर १ देखि ८ सम्मका समूह टोलीले राष्ट्रियसभा गृहमा छलफलमा सहभागी भएका हुन् भने ९ देखि ११ नम्बर समूह तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिस डाँडामा र १२ देखि १५ नम्बर समूह पार्टी कार्यालय धुम्बाराहीमा छलफलमा जुटेका हुन् । नेकपाका अनुसार आजसम्म सबै टोलीनेताले आफ्नो धारणा राखिसक्नेछन् भने छलफलबाट उठेका प्रश्नहरुको जवाफ आइतबार अध्यक्ष र महासचिवले दिने कार्यक्रम रहेको छ । वैठकमा सवै केन्द्रीय सदस्यहरुको राय संकलन गर्ने काम भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.