अधिकृत सरुवाका लागि आईजी र मन्त्रीको दुईथरी लिस्ट

0

काठमाडौं, ३० असार । गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च अधिकारीहरूको सरुवा गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्मादेखि सबै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको तथा केही प्रहरी नायवमहानिरीक्षक (डीआईजी) हरूको सरुवा गर्ने तयारी गरेको हो । गृहमन्त्री वामदेव गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सम्बन्धमा खटपट उत्पन्न भएकै अवस्थामा उच्च प्रहरी अधिकारीहरूको सरुवा गर्ने तयारी भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाहेक कसैलाई टेर्दिन भन्ने आईजीपी अर्याल र गृहमन्त्री गौतम र्आिथक वर्षकै सुरुमा प्रहरी प्रधान कार्यालयले सरुवा गर्ने आन्तरिक विधि निर्माण गरी एकैपटक सयौं प्रहरी अधिकारीको जिम्मेवारी हेरफेरकोे तयारीमा लागेको प्रधान कार्यालय स्रोतले जनाएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सहयोगमा उच्च अधिकारीहरूको र प्रहरी प्रधान कार्यालयले सिपाहीदेखि प्रहरी निरीक्षकसम्मको सरुवाको तयारी भइरहेको स्रोतले जनाएको छ ।
‘कार्यसम्पादन मूल्यांकन सहज हुने तथा बजेट खर्च पनि व्यवस्थित हुने भएकाले एकैपटक सरुवाको तयारी भएको हो । एआईजीहरूका लागि महानगरीय प्रहरी कार्यालय सबैभन्दा आकर्षक कार्यालय हो । आयुक्त कार्यालयमा सरुवाका लागि अपराध अनुसन्धान विभागका सुरेन्द्रबहादुर शाह, महानिरीक्षक सचिवालयका प्रतापसिंह थापा, प्रशासनका वीरेन्द्रबाबु श्रेष्ठ, केदारप्रकाश साउद, मानव स्रोतका रमेश बज्राचार्य, अप्रेसनका गणेश राईलगायतका अधिकारीहरूले दाबी गरिरहेका छन् भने आयुक्तको कार्यालयका एआईजी विज्ञानराज शर्मा भने मानवस्रोत वा प्रशासन शाखामा सरुवा हुन चाहिरहेको स्रोतले दाबी गरेको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी राजेन्द्रसिंह भण्डारीले भने सरुवामा कुनै इच्छा देखाएका छैनन् । सुरक्षा परिषद्मा रहेका नारायण बस्ताकोटीलाई पनि प्रधान कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको छ । त्यस्तै, त्रिभुवन विमानस्थलमा कार्यरत डीआईजी विजयलाल कायस्थको एक वर्षको अवधि पूरा भएको छ । उनी त्यहीँ कार्यरत हुँदा बढुवा भएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्लको पनि एक वर्ष पुग्न लागेकाले उनको सरुवा गर्ने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । उनलाई रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै सरकारले केही दिनअघि पुरस्कृत गरेको थियो, उनले त्यसको खुसियालीमा गत शुक्रबार भोजभत्तेरको आयोजना नै गरेका थिए । उनको स्थानमा अपराध अनुसन्धान विभागका डीआईजी नवराज सिलवाल वा अन्य कुनै एक डीआईजीलाई सरुवा गर्ने स्रोतले जनाएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखामा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल तथा ललितपुर प्रहरी परिसरका प्रमुख पिताम्बर अधिकारीको दरबन्दी कार्यरत ठाउँमै हुने भएको छ । त्यस्तै, काठमाडौं प्रहरी परिसरका उत्तम कार्कीको स्थानमा राजेन्द्रमान श्रेष्ठ वा केदारमानसिंह भण्डारीलाई पठाउने तयारी भएको स्रोतको दाबी छ । काठमाडौं परिसरसहित अञ्चल प्रहरी कार्यालय, तालिम केन्द्रहरूमा रहेका एसएसपीहरूको पनि एकैपटक सरुवाको तयारी भइरहेको छ । केही जिल्लामा प्रहरी प्रमुखहरूको हेरफेर हुँदैछ । २० वटा पहाडी जिल्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको पनि सरुवा हुने भएको छ । कार्यरत भएको एक वर्ष अवधि पुगेका त्यस्ता पहाडी जिल्लाको प्रमुख हुन ३० भन्दा बढी डीएसपीहरू दौडधूपमा छन् । त्यसैगरी, उपत्यकास्थित परिसरअन्तर्गतका वृत्तहरूमा पनि सरुवा तयरी भइरहेको छ । सात सय प्रहरी निरीक्षकहरू पनि सरुवाका लागि प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखाले गृहकार्य थालेको छ ।

Leave A Reply

Your email address will not be published.