काठमाण्डौं – सभामुखको उम्मेदवार चयन गर्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै अध्यक्षको बैठक आज (आइतबार) बिहान बैठक बसेपनी कुनै निष्कर्ष निकाल्न नसकेपछि आज अपरान्ह चार बजे सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।
नेकपाका एक सचिवालय सदस्यका अनुसार ‘आज बिहान अध्यक्षद्वयको छलफल पछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाउने समझदारी भएको छ ।’ उनले भने ।
नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद चर्किदैं जाँदा सार्वभौम भनिएको संसद समेत बन्धक बनेको छ । पुस ४ गतेबाट सुरु भएको संसद बैठक पटकपटक सुचना टाँस गरेर स्थगित गर्ने शृङ्खला चलिरहेको छ ।
सभामुखमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको रोजाइमा नेता अग्नि सापकोटा रहँदै आएका छ्न ।
आजको सचिवालय बैठकले नेम्वाङ र सापकोटाको नाममा सहमति हुन नसके तेस्रो व्यक्तिलाई भएपनि सभामुखको उम्मेदवार बनाउने गरि निर्णय हुन सक्ने समेत सम्भावना रहेको बताइन्छ ।