राजपरिवारको उच्च सदस्यबाट पछि हट्ने ह्यारी – मेगनको घोषणा

0

बेलायती राजपरिवारमा ‘दरार’

बेलायत राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरु राजपरिवारको उच्च सदस्यबाट पछि हड्ने र वित्तिय रुपमा स्वतन्त्र हुने गरी काम गर्ने घोषणा गरेका छन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले ‘सिनियर’ राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गरेका हुन् । राजकुमार ह्यारी र मेगनले जारी गरेको वक्तव्यमा आफूहरुको बसाई बेलायत र उत्तर अमेरिकामा विभाजित हुने पनि उल्लेख गरिएको छ ।

ह्यारी र मेगनले वक्तव्य जारी गर्नु पूर्व महारानी एलिजाबेथ तथा राजकुमार विलियम (ह्यारीका दाइ) सँग परामर्श नगरेको बिबिसीले उल्लेख गरेको छ । ह्यारी र मेगनको घोषणाबाट बेलायती राजदबार निराश भएको उल्लेख छ ।

राजपरिवारका उच्च सदस्यहरु ह्यारीको घोषणाबाट आहत भएको बताइएको छ । गएको अक्टोबरमा राजकुमार ह्यारी र मेगनले मिडिया स्पट लाइटका कारण आफूहरु समस्यामा रहेको सार्वजनिक रुपमा उल्लेख गरेका थिए ।

बुधबार उनीहरुको इन्स्टाग्राम पेजमा पनि राखिएको वक्तव्य धेरै महिनादेखिको आन्तरिक छलफलपछिको निर्णय रहेको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘हामी राजपरिवारको शीर्ष सदस्यबाट पछि हट्न चाहन्छौँ र वित्तिय रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौँ । तर महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्ने छौँ ।’

यस्तै बेलायत र उत्तर अमेरिका बसाइको समय व्यवस्थापन गर्ने उल्लेख छ । मेगन अमेरिकी अभिनेत्री हुन् । बेलायत र उत्तर अमेरिकाबिच समय मिलाउनुको उद्देश्य छोरालाई उपयुक्त वातावरणमा हुर्काउनु रहेको उल्लेख गरिएको छ ।

पछिल्लो घोषणाले राजपरिवारमा दरार सिर्जना गरेको र ह्यारी र मेगन एक तर्फ तथा राजपरिवारका अरु सदस्य अर्को तर्फ देखिएको विश्लेषण गरिएको छ ।

क्रिसमसका बेला ह्यारी र मेगनले राजकीय जिम्मेवारीबाट ६ हप्ताको बिदा लिएका थिए । उनीहरुले सो बेला क्यानडामा छोरा आर्चीसँग समय बिताएका थिए । आर्चीको जन्म गएको मे मा भएको हो ।

बेलायत फर्किएपछि मंगलबार ह्यारी र मेगनले लण्डनमा रहेको क्यानडियन हाइकिसनमा गएर धन्यबाद दिएका थिए । मेगनले लामो समय क्यानडाको टोरन्टोमा बसेर काम गरेकी थिइन् । त्यहाँ उनका धेरै साथी छन् ।

Leave A Reply

Your email address will not be published.