इरानमा कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड, कम्तीमा ३५ जनाको मृत्यु

0

बीबीसी – अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ ।

सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन् ।

आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन् । इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन् ।

शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए । शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ ।

इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।

केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो ।

उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ ।

सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो ।

तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो ।

Leave A Reply

Your email address will not be published.