नेपालका जेलमा १,३०० विदेशी नागरिक

0

बीबीसी – केही दिनअघि काठमाण्डूबाट नेपाल प्रहरीले १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो। अहिले उनीहरू हिरासतमा छन्।

उनीहरूसँग बयान लिने काम भइरहेको र अनुसन्धानको नतिजाको आधारमा मुद्दा चलाउने विषयमा निर्णय गर्ने प्रहरीको भनाइ छ।

नेपालमा विदेशीहरू अपराधमा संलग्न हुनु नौलो कुरा नभएको कारागारमा भएका विदेशीहरूको सङ्ख्याले पनि देखाउँछ।

अहिले नेपालका ७४ मध्ये ३१ कारागारमा झन्डै १,३०० विदेशी कैदी र बन्दी भएको कारागार व्यवस्था विभागले जनाएको छ। नेपालमा कुल कैदीबन्दीको सङ्ख्या झन्डै २४,००० रहेको छ।

अदालतले दोषी ठहर गरेका कैदी र मुद्दाको फैसला हुन बाँकी भएका तर न्यायिक हिरासतमा राखिएका विदेशी बन्दीहरू साइबर अपराध, लागुऔषधि तस्करी, यौन दुराचार र हत्या आदि विभिन्न अभियोगमा पक्राउ परेका हुन्।

कुन जेलमा कति?


सबैभन्दा बढी विदेशी कैदीबन्दी पर्सा कारागारमा रहेका छन्।

सो कारागारमा २१२ जना भारतीय र दुई पाकिस्तानीलाई राखिएको छ।

केन्द्रीय कारागार सुन्धारामा १२४ जना विदेशी कैदीबन्दी छन्। तीमध्ये ६२ जना भारतीय र १२ जना चिनियाँ रहेको कारागार प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताए।

सो कारागारमा २९ जना महिला बन्दीहरू रहेका र तीमध्ये अधिकांश लागुऔषधको कसुरमा जेल परेका बाँस्कोटाले बताए।

चर्चित विदेशी कैदी चार्ल्स शोभराज पनि सुन्धारामै छन्।

धेरै कैदीबन्दी राखिने ललितपुरको नख्खु कारागारमा कैद ११९ विदेशी नागरिकमध्ये ९४ जना भारतीय छन्।

त्यहाँ चीन, रोमानिया, नाइजिरिया र यूके समेत १७ वटा देशका नागरिक कैद रहेको सूचना अधिकारी नरेन्द्र परियारले बताए।
झापा कारागारमा ५७ जना भारतीय र ३७ जना भुटानी पनि जेलमा छन्। सबै भुटानीहरू लामो समयदेखि झापामा बस्दै आएका शरणार्थी भएको बताइएको छ।

कस्ता अपराधमा सजाय?


नेपालका कारागारमा भएका विदेशीमध्ये केहीलाई सजाय भुक्तानका लागि र केहीलाई पुर्पक्षका लागि राखिएको हो।

कारागार विभागका सूचना अधिकारी देवर्षि सापकोटा भन्छन्, “भारतीयहरू कर्तव्य ज्यान, जीउ मास्नेबेच्ने, जबर्जस्ती करणीदेखि चोरी, राजस्व चुहावट र डाँकासम्मका अपराधमा जेलमा रहेका छन्।”

नख्खुस्थित कारागारमा मात्रै १९ देशका ११९ नागरिक छन्। उनीहरू १६ किसिमका कसुरमा थुनिएका हुन्।

दक्षिण अफ्रिका, रोमानिया, नाइजिरिया, तान्जानिया र सेनेगलका धेरैजसो नागरिकलाई लागुऔषध तस्करी गरेको अभियोग लागेको छ।

चिनियाँहरू ब्याङ्किङ कसुर, राजस्व चुहावट, साइबर अपराध र सुन तस्करीजस्ता क्रियाकलापमा पक्राउ भएको पाइएको छ।

बालयौन दुराचार, नक्कली राहदानी र अप्राकृतिक मैथुनजस्ता अपराधमा पनि विदेशी नागरिकहरूलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

विदेशी नागरिक अपराधमा किन?


केही वर्षयता नेपालमा विदेशी कैदीबन्दीको सङ्ख्या बढेको सरकारी तथ्याङ्कले देखाउँछ।

विसं २०७२ मा १,०२८ विदेशी नेपाली जेलमा थिए भने गत वर्ष उक्त सङ्ख्या ११५६ पुगेको थियो।

नेपालमा भारतीय तथा अन्य विदेशी नागरिकहरू विभिन्न अपराधमा संलग्न हुनुको प्रमुख कारण खुला सीमा र फितलो अध्यागमननीति रहेको विज्ञहरू बताउँछन्।
फौजदारी कानुनका जानकार वरिष्ठ अधिवक्ता प्राध्यापक रजितभक्त प्रधानाङ्गको अनुसार भिसामा कडाइ नहुनु, भिजिट भिसाको सहजता र कमजोर अनुगमन भएको कारण विदेशीहरूको अपराधमा संलग्नता बढेको हो।

उनीहरुको विवरण राम्ररी जाँच गरेर मात्रै विदेशी नागरिकलाई भिसा दिन र आएका विदेशीको क्रियाकलापमा निगरानी गर्ने जस्ता काम गर्न आवश्यक भएको उनी औँल्याउँछन्।

Leave A Reply

Your email address will not be published.