ओलीसँग संसदमा प्रतिरोध गर्ने गगन थापाको उद्धघोष

0

काठमाण्डौं – नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केपी ओली, पूर्व राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भएको आरोप लगाएका छन् । ‘ओली राजा ज्ञानेन्द्र शाहभन्दा खतरनाक भए’, उनले भने, ‘बरु ज्ञानेन्द्र शाह यति धेरै खतरनाक देखिएका थिएनन् । शाही शासनभन्दा ओली शासन खतरनाक छ। शाहीकालमा ज्ञानेन्द्र राजाले कानुन नबनाएर उल्लंघन गरेको मात्र हो। तर, केपी ओलीले कानुन बनाएर जनताको अधिकार खोस्दै छन् ।’

दुई तिहाईका दम्भले एकपछि अर्को कानुन बनाएर सरकारले जनताको अधिकार खोस्ने काम गरेको उनको आरोप थियो । तनहुँको दमौलीमा प्रेस युनियन तनहुँ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा थापाले जनताबाट निर्वाचित सरकारले एकपछि अर्को कानुन बनाएर कानुनका आधारमा सबै अधिकार खोसेर लैजाने तयारी गरिरहेको आरोप लगाए । जनताको अधिकार खोस्ने सरकारको तयारीलाई कांग्रेसले संसदमा रोक्ने पनि उनले चेतावनी दिए । ‘जनताको अधिकार खस्ने खोजे कांग्रेसले विरोध मात्र गर्दैन’, उनले भने, ‘प्रतिरोधसमेत गर्छ ।’

संसद र सडकको शक्तिलाई एकाकार गरेर जनताको हितविपरीत कानुन बन्न नदिने उनले चेतवानी दिए । सरकारले गलत कदम चालिरहे कांग्रेस नेतृत्वले दायाँबायाँ खुट्टा कमाउन नहुने पनि थापाले बताए । कांग्रेसले जनताको अधिकारसँग जोडिएका विषयमा कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो ।

सरकारले रिस उठेको मानिसलाई कारबाही गर्न र सरकारविरुद्ध बोल्नेलाई कारबाही गर्न कानुन बनाउन खोजेको उनको आरोप थियो । संसदमा पेस गर्न खोजिएका विधेयकले संविधान कार्यान्वयनमा जोड दिनुभन्दा पनि जनताको अधिकार खोस्ने उनले बताए ।

फरक प्रसंगमा यती ग्रुप भन्ने एउटा कम्पनीलाई नेपालको सबै सम्पत्ति हस्तान्तरण गरिनु दुःखद विषय भएको उनले बताए । उनले राज्यको सम्पत्ति एउटा कम्पनीलाई जिम्मा लगाउनु राम्रो नभएको बताए । प्रधानमन्त्री ओलीले आफ्नो शक्तिलाई चरम दुरुपयोगसमेत गरेको उनले आरोप लगाए ।

Leave A Reply

Your email address will not be published.