१३औं साग: आयोजनामा जे देखीयो ! यी हुन हाम्रा कमजोरी

0

तुलसी नेपाल – यतिबेला पूरा देश दक्षिण एशियाली खेलकुद (साग) को आयोजनामा ब्यस्त छ । खेलाडी, खेलमैदान मात्रै होइन दर्शकदेखि शहरका भित्ताहरुलाई पनि सागको रंगले छपक्कै ढाकेको अवस्था छ ।

सागको इतिहासमै सबैभन्दा धेरै पदक जितेर नेपाली खेलाडीहरुले सारा नेपालीको शिर उँचो बनाएका छन् । त्यो सँगै सागको आयोजक रहेको नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी तथा त्यससम्बद्ध पदाधिकारीहरुले भने देशको शिर उँचो हुनै कुनै काम गरेको छनक देखिएको छैन ।

विवादमा कीर्तिमान, खेलाडी रित्तै, पदाधिकारी मालामाल

निर्धारित मितिमा साग आयोजना हुने नहुने अन्यौलताका बिच आयोजना त भयो तर आयोजक नेपाल भने साना देखि ठुला ब्यबस्थापनमा समेत पटकपटक चुकेको अवस्था देखियो ।

१५ मंसिरमा राष्ट्रपतिबाट आयोजना गरिएको सागको उद्घाटन सत्र नै विवादित बन्न पुग्यो, साग आयोजक समितिमा रहने उच्च पदस्थ पदाधिकारीलाई दौरासुरुवाल र कोट मात्रै होइन टोपी, जुत्ता र मोजा समेतको ब्यबस्थापन गर्न भ्याएको साग आयोजकले खेलाडीहरुलाई भने औपचारिक खेल पोशाक समेत समयमा उपलब्ध गराउन नसक्दा नेपाली क्रिकेट टिमले ट्याकसुटमै मार्चपास गरेको हरिबिजोग पनि देखिएकै हो ।

पुरुष फुटबलको खेल तालिकाप्रति सागमा सहभागी माल्दिभ्स, श्रीलंका र भुटानले आपत्ति जनाए । फिफाको नियम अनुसार एक खेल खेलेको कम्तीमा ४८ घण्टापछि मात्रै दोस्रो खेल हुनुपर्ने प्रावधान बिपरित लगातार खेल राखेर फिफाको नियमको धज्जी उडाउने काम समेत साग आयोजकले गर्न भ्याए ।

अन्तिम समयमा पुरुष फुटबलमा भारत सहभागी नहुने भएपछि सहभागी अन्य टिमलाई पत्तो समेत नदिईकनै जसरी खेल तालिका परिवर्तन गर्ने काम भयो त्यसले पनि आयोजकमा रहेको हतारोपन र व्यव्स्थापकीय कमजोरीलाई दर्शाउँछ ।

त्यस्तै मुख्य खेल स्थल दशरथ रंगशालामा पुरुष शौचालय र महिला शौचालय लेख्दा समेत भाषिक शुद्धताको धज्जिया उडाउँदै नत नेपाली शुद्ध लेखीयो नत अंग्रेजी नै यसलाई पनि नेपाली खेलप्रेमीहरुले सामाजिक संजालमा ट्रोल नै बनाउन भ्याए । कुरा यतिमा मात्रै सकिँदैन ।
आयोजकको लाचारी त त्यतिबेला देखियो जब सुटिङमा सहभागी ९ जना खेलाडीले सन् १९९९ को साग आयोजनकै क्रममा किनिएको एउटा पेस्तोलले अभ्यास गर्नुपरेको खुलासा भयो ।

उक्त खुलासा सँगै सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले ञ२५ मिटर सुटिङ रेन्जको पेस्तोल नै भएकोझ सार्वजनिक अभिव्यक्ति नै दिए । ६ महिना अगाडि नै अत्यावश्यक सामाग्रीको लिस्ट राखेपलाई बुझाए पनि राखेपले खरिद गर्न नसकेको आरोप लगाउँदै आफ्नो कमजोरी बाट उम्कीए । खेलाडीले हामी आफैं ब्यबस्थापन गर्छौं भनेर मात्रै खेलमा सहभागी गराएको भन्ने लज्जास्पद अभिव्यक्ति दिन समेत पछि परेनन् ।

यता सुटिङमा सहभागी खेलाडीले भने आफ्नै प्रतिस्पर्धी पाकिस्तानी खेलाडी सँग बन्दुक र भारतीय खेलाडी सँग कारतुस मागेर प्रतियोगितामा सहभागीता जनाउँदै गर्दा हाम्रा साग आयोजकलाई कस्तो महसुश भयो त्यो त अलग कुरा हो तर सहभागी खेलाडीको आँशुले भने सबैकुरा अभिव्यक्त गरिरहेको थियो । अर्को्तिर २० बर्ष पुरानो पेस्तोल लिएर सहभागी खेलाडीको पेस्तोल जाम भएर नपड्कदाँको पीडा कस्तो होला हामी आफैं कल्पना गर्न सक्छौ ।
काठमाण्डौं, ललितपुर, पोखरा र जनकपुरमा सागका खेल हुने कार्यतालिका रहेपनी सागको आधिकारिक लोगोमा काठमाण्डौं र पोखराको नाम मात्रै उल्लेख गरियो । ललितपुर त काठमाण्डौं उपत्यका भित्रै रहेकाले कुनै समस्या भएन तर जनकपुरमा भने यसैलाई लिएर ठूलो समस्या सिर्जना हुन पुग्यो । जनकपुरका संचारकर्मीले समेत लोगोमा जनकपुरको नाम उल्लेख नहुने भए सागको समाचार नलेख्ने चेतावनी पछि मात्रै आयोजकले आफ्नो लोगोमा सुधार र्गयो ।

ट्रायाथलन र डुवाथलनमा पदक बिजेता खेलाडीले समेत प्रतियोगितामा प्रतिस्पर्धा गरिरहँदा प्रतिस्पर्धामा भन्दा पनि आफ्नो साईकलको टायर पन्चर हुन्छ कि भनेर सोच्नुपर्ने अवस्था समेत सिर्जना भएको खबर बाहिरियो । मन्त्रीको दौरासुरुवालको नाप लिन मन्त्रीको कार्यकक्ष र निवास वरिपरि फन्को मारिरहने हरुले आफ्ना सागमा सहभागी आफ्ना खेलाडीको सहि साईज थाहा नपाउँदा ठिक साईजको खेलकुद पोशाक समेत उपलब्ध गराउन सकेनन् । खेलाडी अरुको पोशाक मागेर नै प्रतिस्पर्धामा सहभागी मात्रै भएनन् पदक समेत जिते ।

सागको अन्त्य तिर आउँदै गर्दा सागमा सहभागी हुन आएका १३ जना श्रीलंकन खेलाडीलाई डेंगुको संक्रमण देखियो । एक श्रीलंकन खेलाडीलाई त आईसीयुमै राखेर उपचार गर्नुपर्ने अवस्था आईलागेका खबरहरु सार्वजनिक भए । भलै नेपाल आउनु अघि नै श्रीलंकन खेलाडीलाई डेंगु भएको हुनसक्ने अनुमान लगाईएको छ । तर पनि अहिले नै ठोकुवा गरिहाल्ने अवस्था भने देखिंदैन ।

यस्ता ब्यवस्थापकिय कमजोरीका बाबजुद खेलाडीको प्रदर्शनले भने आयोकको ईज्जत् जोगाईदिएको छ । अहिलेसम्म नेपाल ४३ स्वर्ण सहित कुल १४२ पदक जित्दै तालिकाको दोस्रो स्थानमा आसिन छ । अझै प्रतियोगिता जारी रहेकोले यो संख्या पक्कै बढ्नेछ । खेलाडीको प्रदर्शन जस्तै आयोजकको व्यवस्थापन चुस्त भएको भए पक्कै अझै बढी हुनसक्थ्यो होला वा नतिजा मा फरक नपरे पनि देशको ईज्जत् त पक्कै जोगिन्थ्यो नै होला । उसै पनि हामी भ्रमण बर्ष २०२० को सन्निकट उभिएका छौं । खेलकुदकै माध्यम बाट पनि त भ्रमण बर्षको थोरै भएपनी सकारात्मक प्रचार हुने थियो कि ?

Leave A Reply

Your email address will not be published.