काठमाण्डौं – सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले कार्यकारी हैसियतमा बुधबार पहिलोपटक पार्टीको केन्द्रीय सचिवालय बैठक सम्पन्न गरेका छन् ।
यसअघिसम्म प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउने र अध्यक्षता गर्दै आएका थिए । तर यही मंसिर ४ गते ओलीको अध्यक्षतामा बसेको सचिवालयको बैठकले पार्टी संचालनको कार्यकारी जिम्मेवारी प्रचण्डलाई सुम्पिएपछि उनी कार्यकारी अध्यक्षको भूमिका छन् ।
कार्यकारी भूमिका प्राप्त गरेपछिको यो नै उनको पहिलो बैठक हो । आजको बैठकमा अध्यक्ष ओली अनुपस्थित भए । उनी मंसिर १० मा गरिएको एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टरमा उपचारार्थ छन् ।
आजको बैठकले मुख्यरुपमा गत शनिबार सम्पन्न संघ, प्रदेश र स्थानीय तहको उपचुनाव समीक्षा गरेको जनाएका छन् । तीनै तह गरी ५२ स्थानमा उपचुनाव भएको थियो ।
बैठकले ती स्थानमा भएको उपचुनावको समीक्षा रिपोर्ट तीन दिनभित्र पेश गर्न मातहतका सम्बिन्धित तह कमिटीलाई निर्देशन दिने निर्णय भएको पार्टी केन्द्रीय प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । सचिवालयको अर्को बैठक मंसिर २३ गते बस्ने र प्राप्त समीक्ष रिपोर्ट त्यस बैठकमा पेश गरिने उनले बताए ।
उपचुनावमा सोचेभन्दा निकै अप्ठ्यारो मत प्राप्त भएपछि सत्तारुढ नेकपाभित्र चिन्ता छाएको र राष्ट्रियताको विषयले सरकारलाई अप्ठ्यारो परिस्थिति आइलागेको निस्कर्ष बैठकले निकालेको स्रोतले जनायो ।
बैठकले उपचाररार्थ प्रधानमन्त्री ओली को स्वास्थ्य लाभको कामना गरेको छ । नौ सदस्यीय रहेको सचिवालयमा सदस्यद्वय वरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेल सहभागी थिएनन् ।