निःशुल्क प्रवेशाज्ञा र टिकटको सम्झौता नरोकिने
काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ । वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले नेपाली कामदारको सङ्ख्या बढी भएका साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमन र मलेसियामा लागू गरिएको सो व्यवस्था आगामी दिन अन्य मुलुकमा पनि विस्तार गर्दै लगिने जानकारी दिनुभयो ।
हाल ३७ लाख कामदार वैदेशिक रोजगारमा छन् । राज्यमन्त्री गुरुङले घर खेतसमेत बन्धकी राखेर कतिपय कामदार वैदेशिक रोजगारमा पुगेको, केहीले तोकेको काम नपाई दुःख पाएर फर्किनुपरेको र केहीले ऋण तिर्न नसकेर आत्महत्यासमेत गर्न पुगेको गुनासो आएकाले कामदारका हितका लागि सरकारले सो व्यवस्था गर्नुपरेको बताउनुभयो ।
सो व्यवस्थाले सङ्घको व्यवसायमा असर नपुग्ने भएकाले आन्दोलनको कुनै तुक नभएको उल्लेख गर्दै उहाँले अब हाम्रा कामदार पैसा तिरेर होइन निःशुल्क प्रवेशाज्ञा र टिकट लिएर वैदेशिक रोजगारमा जान्छन् भन्नुभयो । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष टिबी कार्कीले जुन मुलुकले वैदेशिक कामदार मगाउँछ सोही मुलुकले कामदारका लागि टिकट र प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था गरेको बताउँदै नेपाली कामदारको इमान्दारी र बफादारितले नै वैदेशिक कम्पनीले नेपाली कामदारलाई बढी मन पराएका हुन् भन्नुभयो ।