अहिले पूर्ण संविधान आउँदैन : उपसभामुख घर्ती

0

काठमाडौं, २८ आषाढ । उपसभामुख ओनसरी घर्ती मगरले अहिले पूर्ण संविधान नआउने बताएकी छन् । दलहरुबीच न्यूनतम सहमतिका आधारमा संविधान जारी हुने उल्लेख गर्दै उनले प्रदेशका सीमांकन तथा नक्शांकन पछि टुंगो लाग्ने बताइन् । ईमेज एफएमसँग सोमबार कुरा गर्दै उनले प्रमुख राजनीतिक दलहरुले १६ बुँदे सहमति गर्दै मुलुकलाई निकास दिएको उल्लेख गरिन् ।
‘१६ बुँदे सहमतिकै आधारमा पछिल्लो दिनमा मुलुक संविधान निर्माणतर्फ उन्मुख भएको हो,’उनले भनिन् । संविधानको मस्यौदा जनतामा राय सुझावका लागि लगिएको प्रसंग कोट्याउँदै उनले जनताले हिन्दु राष्ट्रका लागि राय दिएमा मुलुक हिन्दु धर्म सापेक्ष हुनसक्ने प्रष्ट पारिन् ।‘धर्म निरपेक्ष घोषणा भइसकेको छ,’ उनले भनिन्, ‘जनताले नै हिन्दु राष्ट्रका पक्षमा रायसुझाव दिएमा हिन्दु धर्म सापेक्ष हुन सक्छ ।’
उनले शीर्ष नेताहरु भारत भ्रमणमा जानुलाई गलत अर्थमा बुझ्न नहुने बताइन् । ‘छिमेकी मुलुकको सुझाव र सल्लाह लिनु राम्रै हो,’ उनले भनिन्, ‘भारत भ्रमणलाई गलत अर्थमा लिनु हुँदैन ।’यद्यपी उनले नेपाली भूभाग भारतले मिच्दै आएको सत्य भएको बताइन् ।
उनले लिपुलेकका बारे भारत र चीनले हालै एकतर्फी सम्झौता गरेको भन्दै सरकारले कुटनीतिक पहलमार्फत विवाद सुल्झाउनु पर्ने बताइन् ।
‘दुबै छिमेकी मुलुकले कुटनीतिक भाषा बुझेनन् भने जनतामा जानु पर्दछ,’ उनले भनिन् । भूकम्प पिडीतले अझै राहत नभएको गुनासो गर्दै उपसभामुख घर्तीले भनिन्, ‘सरकारका लागि यो लज्जाको विषय हो ।’ भूकम्प पिडीतलाई राहत तथा पुनर्वासको व्यवस्थातर्फ सरकारले छिटो ध्यान दिनुपर्ने उनले बताइन् ।

Leave A Reply

Your email address will not be published.