‘नेपालका लागि नेपाली’का अभियन्ता ज्ञानेन्द्र शाही हटाइए

0

काठमाण्डौं – ‘नेपालका लागि नेपाली’ अभियानबाट भ्रष्टाचारविरुद्धका सामाजिक अभियान्ता बताउने ज्ञानेन्द्र शाहीको नामबाट परिचित ज्ञानबहादुर शाही ‘निष्कासित’ भएका छन् ।

बुधबार बसेको ‘नेपालका लागि नेपाली’को अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई सम्पूर्ण रुपले जिम्मेवारीबाट हटाई निष्कासित गर्ने निर्णय गरेको जनाएका छन् ।

‘शाहीले अभियानमा पु¥याउनुभएको योगदानको लागि धन्यवाद दिँदै अब उप्रान्त उहाँले दिने अभिव्यक्ति, कार्यक्रम तथा गतिविधिहरुमा नेपालका लागि नेपालीको अभियानको कुनैपनि संलग्नता, सहभागिता र समर्थन रहने छैन’ बैठकको निर्णय सार्वजनिक गर्न अभियन्ता सुरेन्द्र भण्डारीद्वारा बिहिबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

अभियानको केन्द्रिय कार्यसमितिको बैठक बसेर शाहीलाई निष्कासित गरिएपनि अभियानमा रहेर गरिने शाहीको भूमिकालाई लिएर करिब करिब अढाई महिनादेखि नै प्रश्न उठ्ने गरेको भण्डारीले चारदिशालाई जानकारी दिए ।

मुख्यगरी गणतन्त्र र संघीयताप्रति शाही सकारात्मक देखिएपछि आफूहरुले यो कदम उठाउनु परेको भण्डारीको भनाई छ । आवरणमा जे जस्तो कुरा आएपनि भ्रष्टाचार विरुद्धको अभियानको क्रममा उठेको आर्थिक स्रोतको अपनत्वलाई लिएर नै लामो समयदेखि ‘नेपालका लागि नेपाली’ अभियान विवादित रहँदै आएको छ ।

अभियानको कार्यसमितिको निर्णयभन्दै सार्वजनिक गरिएको सामाग्रीमा भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण (संघीयताको खारेजी) र धर्म निरपेक्षताको खारेजीका साथै राजनैतिक शुद्धीकरणका एजेण्डामा अभियानको प्रतिवद्वता अझै सशक्त हुने कुरा उल्लेख गर्दै शाही अभियानका यी प्रतिबद्धताप्रति प्रतिवद्ध नरहेकोले शाहीलाई निष्कासित गर्नुपरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

शाही के भन्छन् ?

‘नेपालका लागि नेपाली’ अभियानबाट निष्कासित शाहीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले आफू राष्ट्रियता बचाउन लिपुलेकतिर जान लागेको र आफूलाई निष्कासन गरेको विषय संचारकर्मीहरुबाटै थाहा पाएको बताए ।

भ्रष्टाचारविरुद्धको अभियानमा रहेका सहकर्मी अभियान्ताकै सम्पत्ति छानबिन गर्न आवाज उठाउँदा निष्कासितमा पारिएको हुने सक्ने शाहीको भनाई छ । ‘निष्कासित निर्णय नियोजित र षडयन्त्रपूर्ण छ’ शाहीले अनलाइन पानासँग भने ।

हटाउने अधिकार बैठकमा सहभागीहरुसँग नरहेको उनको भनाई छ । ४६ जनाको केन्द्रीय कार्यसमिति रहेको अभियानका ८–१० जना भेला भएर गरिएको निर्णयको आधिकारिकतामाथि नै प्रश्न उठाउँदै सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने लगायतका केही गिरोहले आफ्नो अकूत सम्पत्ति जोगाउन आफूमाथि नियोजित हमला गरिएको शाही बताए ।

भ्रष्टाचारविरुद्धको अभियानको उद्देश्यमा आफू विचलित नहुने र गणतान्त्रप्रति ईमान्दार भएर लाग्ने बताए । तर शाहीले संघीयताको खारेजीको लागि भने सक्रिय रहने बताए ।

शाही ‘नेपालका लागि नेपाली’ अभियानका संस्थापक हुन् ।

Leave A Reply

Your email address will not be published.