पोखरामा जमिन भ्वाङ पर्न थाल्यो

0

पोखरा, २७ आषाढ । बीस महिना अगाडी भ्वाङ परेर हैरान बनाएको पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मलामा फेरि ठूला–ठूला भ्वाङ पर्न थालेपछि स्थानीवासी त्रसित बन्न थालेका छन् । केही समय भ्वाङ पर्न रोकिएपनि वर्षा सुरु भएसँगै भ्वाङ पर्न थालेपछि स्थानियवासी त्रसित बनेका हुन् ।
केहि दिनकै बीचमा १८ भन्दा बढी भ्वाङ परिसकेको अर्मला विपत व्यवस्थापन समितिका अध्यक्ष लीलाधर आचार्यले बताए । गत असोजदेखि भ्वाङ पर्न रोकिएर फेरि भ्वाङ परेको जमीन भित्रबाट सेतो कमेरो मिसिएको माटो बग्न थालेकाले झनै डर भएको हो । घर नजिकै भ्वाङ पर्दा स्थानीय दिनेश नेपाली, भूपेन्द्र पौडेल, कृष्ण प्रसाद पौडेल, प्रकाश कार्की, कमल कार्की र सीता कार्कीको घर जोखिममा परेको छ ।
अर्मलामा २०७० साल मंसीर ४ गतेबाट भ्वाङ पर्न थालेको हो । नजिकैको कालीखोला गहिरिएकाले त्यस्तो भएको भन्दै सरकारले नियन्त्रणका लागि तटबन्ध बनाइरहेपनि थप भ्वाङ परेको हो । विशेषज्ञले धान खेती नगर्न सल्लाह दिएपछि स्थानीयले अघिल्लो वर्ष करिब ५ सय रोपनी जग्गा बाँझै राखेका थिए भने यस वर्ष करिब ३ सय रोपनी जग्गा बाँझै राखेका छन् ।

Leave A Reply

Your email address will not be published.