शुल्क सीमा नाघ्ने मेडिकल कलेजलाई कारवाही गर्न निर्देशन

0

काठमाण्डौं – सरकारले तोकेको शुल्क सीमा नाघेर बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

शुल्कको सीमाभन्दा बाहिर गएर अवैध शीर्षकमा रकम ठगी गर्ने मेडिकल कलेजहरुलाई कारवाही गर्नुपर्ने माग गर्दैै पीडित विद्यार्थी र अभिभावकहरु आन्दोलित भइरहेको बेला प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेजहरुले करोडौं रकम विद्यार्थीसँग ठगी गरेको सुनेको बताउँदै दोषी कलेजलाई तुरुन्त ठगी मुद्दामा कारवाही गर्न निर्देशन दिए ।
‘गलत नियत बोकेका कलेज संचालकहरुले नेकपाको सरकार बन्नु पहिल्यैदेखि गलत शीर्षकमा विद्यार्थीबाट रकम असुलिरहेको पाइएको छ, यो सरकार बनेपछि पनि अन्ुचित ढंगले करोडौं रकम उठाएको रिपोर्ट आइरहेका छन् । सरकारले त्यो फिर्ता गराउन खोजिरहेको छ’ प्रधानमन्त्री ओलीले भेलालाई सम्बोधन गर्दै भने ।

शुल्क ठगीमा संलग्न कलेज संचालकहरुलाई चेतावनी दिँदै भने, ‘पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिएपनि, खुला रुपमा लिएपनि सीमा नाघेर शुल्क उठाउनु ठगी हो, त्यो फिर्ता हुनैपर्छ ।’ मेडिकल कलेज सञ्चालकहरुले अकुत नाफा कमाएको भन्दै तिनलाई छुट नदिने उनको भनाई छ ।

चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालयलगायतले यसअघि नै बढी उढाएको रकम फिर्ता वा समायोजन गर्न कलेजहरुलाई लिखित निदेर्शन दिइसकेको छ । तर कलेज प्रशासनहरुले अटेर गर्दै आइरहेका छन् ।

सरकारको तोकेको सीमाभित्र रहेर शुल्क लिएर मेडिकल कलेज चलाउन नसक्ने भन्नेहरु अन्यत्र पेशामा लागे हुने भन्दै भने ‘भर्खर खुलेका मेडिकल कलेज संचालकले अकुत नाफा गरेका छन् । विद्यार्थीलाई गाईभैंसी जसरी तान्ने प्रवृति देखिएको छ । त्यो तरिका मानिँदैन ।’
मेडिकल शिक्षा नागरिकको पहुँचबाट धेरै टाढा पुगेको र माफियाहरुले सर्वसाधारणलाई चिकित्सा शिक्षमा अवसर नै नदिएको भन्दै व्यापक सुधार गर्न र सबैको पहुँचमा पुर्याउनुपर्ने मागसहित गत भदौ ५ देखि पीडित विद्यार्थीहरुले प्रकाश चन्द नेतृत्वमा ‘चिकित्सा शिक्षा संघर्ष अभियान’ चलाएर संघर्ष चलाइरहेका छन् ।

वीरगञ्जको नेशनल मेडिकल कलेज, भैरहवाको युनिभर्सल मेडिकल कलेज, चितवन भरतपुरको चितवन मेडिकल कलेज, पोखराको गण्डकी मेडिकल कलेज, विराटनगरको नोवेल मेडिकल कलेजलगायत देशैभरका मेडिकल कलेजहरुमा अवैधरुपमा असुल गरेको रकम फिर्ताको माग गर्दै तालाबन्दी र धर्ना कार्याक्रम जारी राखेका छन् ।

Leave A Reply

Your email address will not be published.