काठमाण्डौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट विचार बोकेर कांग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै कांग्रेस कम्युनिस्टको बिकल्प राप्रपा भएको दाबी गरेका छन् ।
कास्की -२ को उपनिर्बाचन प्रचार अभियानको क्रममा आज पोखराको बिरौटामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले बिगतमा आफुहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिँदै अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।
राप्रपाले आगामी दिनमा जनता, संगठन केन्द्रित सिद्धान्त केन्द्रित राजनीति गर्नेछ भन्दै थापाले सत्ताकेन्द्रित राजनीतिलाई महत्त्व नदिई आदर्शको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मुलुकमा व्याप्त विकृती, विसंगति, ब्रम्हलुटको विपक्षमा उभिन पोखरेली जनतालाई आग्रह गर्दै थापाले वाइड बडी, तेत्तीस क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर छली प्रकरणलाई बल पुग्ने गरि कांग्रेस कम्युनिस्ट नरोज्न मतदातालाई अनुरोध गरे ।