पानीको हाहाकार

0

बर्दिवास, २६ असार । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । जताजतै पानीको छ्यालब्याल हुनुपर्ने बेला जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविस क्षेत्रमा यसअघि उपयोग गरिँदै आएका खानेपानीका स्रोत सुक्दै गएको छ ।
बर्दिवास नगरपालिका क्षेत्रको बर्दिवास र गौरीवासमा खानेपानीको आपूर्ति गर्दै आएको पानी भण्डारण ट्यांकीबाट धमिलो पानी आउने गरेको बर्दिवास खानेपानी आयोजनाका उपभोक्ताको गुनासो छ । बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गरेको खानेपानी धाराबाट आउने पानीको मुहानमा रातु नदीको बाढी पसेपछि पछिल्लो एक सातादेखि धमिलो पानी खानुपरेको बर्दिवास–३ का उपभोक्ता जङ्गबहादुर श्रेष्ठले बताउनुभयो । धमिलो पानी खानपिनमा प्रयोग गरिनाले आफ्नो बस्तीमा रुघाखोकी र झाडापखालाका बिरामी बढेका बासिन्दाको भनाइ छ ।
बर्दिवास नगरक्षेत्रकै किसाननगर र माईस्थान बस्तीमा खानेपानीका परम्परागत स्रोत (इनार र जरुवा कुवा) का मुहान सुकेकाले खानेपानीको जोहो गर्न समस्या परेको यहाँका बासिन्दा बताउँछन् । यता खानेपानीका लागि चापाकल र इनारमा भर पर्दै आएका हाथीलेट, भङ्गाहा, पशुपतिनगर, बिजलपुरा, भरतपुर, बेलगाछी, लक्ष्मीनिंयाँ र भरतपुर गाविस क्षेत्रमा लगातार इनार र चापाकल सुक्दै गएको छ ।
असारमभै ७०० घर रहेका आफ्नो बस्तीका २० इनार र ४० भन्दा बढी चापाकल सुकेपछि खानेपानीका लागि रातु र बडहरी नदीको पानी ओसारिएको भङ्गाहा गाविसको रामनगर बस्तीका अशोककुमार महतोले बताउनुभयो । उत्तरवर्ती क्षेत्रमा लामो समयसम्म पानी नपरेर खडेरी पर्दा यसअघिका वर्षमा पनि खानेपानीको हाहाकार खेप्दै आए पनि कुनै निकायले आपूmहरुको समस्या समाधानका लागि पहल नगरिदिएको गुनासो यहाँका बासिन्दाको छ ।
असार मासमा हिलाम्य खेतमा धान रोप्ने बेला आपूmहरु भने खानेपानीकै जोहोमा रुमलिनुपरेको किसान बताउँछन् । यसपालि नै खानेपानीका लागि डिप बोरिङ जडान गरिने आश्वासन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले दिनु भए पनि काम भने केही नभएको पशुपतिनगर–१ का महेन्द्रसिंह कुशवाहाले बताउनुभयो ।
जिल्लाको सो क्षेत्रमा बर्सेनिजस्तो मुहान सुकेकाले नै खानेपानीको समस्या व्यहोरिँदै आएकाले स्थायी समाधान खोजिनुपर्ने बिजलपुरा गाविसका पूर्वउपाध्यक्ष विश्वनाथ सिंहको भनाइ छ । यसैबीच जिविस महोत्तरी र सरसफाइ डिभिजन कार्यालय महोत्तरीले यसपालिका वार्षिक योजनामा सो क्षेत्रको खानेपानी समस्या समाधानका लागि बनेका योजनाले प्राथमिकता पाएको जनाएका छन् ।
कार्यालयबाट सञ्चालन गरिने योजना निश्चित प्रक्रिया पूरा गरेर सुरु गरिने हुनाले काम थाल्न ढिलाइ हुँदा जनगुनासो बढेको डिभिजन कार्यालय महोत्तरीका प्रमुख झाको भनाइ छ । आउने वर्षमा भने यस क्षेत्रका खानेपानीका धेरैजसो समस्या समाधान भइ सक्ने आश्वासन सो कार्यालयले दिएको छ ।

Leave A Reply

Your email address will not be published.