काठमाण्डौं – भ्रष्ट्रचार विरुद्ध र सामाजिक न्यायको पक्षमा अभियान चलाइरहेका सामाजिक अभियन्ता सिद्धार्थ अधिकारीले भारत सरकारले आप्mनो देशको नक्सा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर सार्वजनिक गर्नु नेपालीको अस्तित्व हरण गर्ने कोशिस भएको बताएका छन् ।
कश्मिरको स्वतन्त्रतालाई समाप्त गरिसकेपछि भारत सरकारले सार्वजनिक गरेको नक्सामा नेपालको दार्चुलाको उक्त भूमि समेटिएको पाइएको छ । सोपछि बुधबार पनि देशका मुख्य शहरहरुमा प्रदर्शन भएको छ ।
अभियन्ता अधिकारीले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथिको कहीकतैबाट हुने हस्तक्षेप र हरण प्रयासको घोर विरोध गर्ने र आवश्यक परे प्रतिवाद गर्ने बताए ।
अनलाइनपानासँग संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले भने, ‘हाम्रो एक इन्ज भूमि र माटोमाथि कसैले हस्तक्षेप र अतिक्रमण गर्ने कोशिस मात्र गरेपनि सहेर बस्दैनौं । भारतले आफ्नो नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी समेत राखेर ल्याएको देखिन्छ । त्यो तत्काल खारेज गर्नुपर्छ ।’
भारत सरकारले नेपालमाथि सधैं गिद्धे दृष्टि राख्दै आएको बताउँदै अभियन्ता अधिकारीले भने, ‘नक्सा नसच्याए भारतीय शासकको हस्तक्षेपकारी चरित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उजागर गरेर संयुक्त राष्ट्र संघसम्म पुर्याउँछौं ।’
सम्पूर्ण देशभक्त नेपालीहरु भारतीय शासकको अतिक्रमणकारी चरित्रको विरोधमा सडकमा उत्रन र विरोध जारी राख्न उनले अपिल गरे । राष्ट्रियता र स्वाधीनतामाथि कतैबाट हुने आँच रत्तिभर सह्य नहुने उनले बताए ।