काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले लिपुलेकसहितको नेपाली भू-भाग भारतले हडपेर आफ्नो नक्सामा राखेको विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य समेत रहेका पूर्वगृहमन्त्री रावलले यस सम्बन्धमा छलफल गरेर धारणा बनाउन तत्काल सर्वदलीय बैठक बोलाउन माग गरे ।
आफ्नो पार्टी सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकमा पनि यसबारे छलफल गर्न नेता रावलले माग गरेका छन् । उनले पार्टी स्थायी कमिटी र सचिवालय बैठकमा छलफल गरिनुपर्ने र त्यसपछि सर्वदलीय बैठकमा पनि यस सम्बन्धमा कुरा गरेर तत्काल सरकारले आफ्नो धारणा बाहिर ल्याउनुपर्ने बताए ।