जीव शास्त्रीहरुका अनुसार हालसम्म ब्विश्वमा चरामा मात्र प्वाँख पाइएको छ भने अन्य जीवमा छैन । ९६ प्रतिशतभन्दा केही बढी चराहरुमा एकभन्दा बढी किसिमका प्वाँखहरु हुन्छन् । हामीले झलक्क देख्दा चिल्लो जस्तो देखिने प्वाँख आवरणपत्र हो । त्यसले चरालाई रुप र आकार दिएको हुन्छ । यसलाई ‘कन्टोर फेदर’ पनि भनिन्छ । यी पखेटा र पुच्छरमा हुन्छन् ।
सबैभन्दा सानो चरामा एक हजारभन्दा कम र चिनियाँ हाँसमा २५ हजार जति कन्टोर फेदर हुन्छन् । प्वाँखको बीचमा देखिने डाँठजस्तो भागलाई ‘राचिस’ भनिन्छ । यो लचिलो र बलियो हुन्छ । यसका दायाँ–बायाँतिर एक–आपसमा जोडिएका रेखाहरु हुन्छन् । गहिरिएर हेर्दा टाँसिएजस्तो देखिने रेखाहरुलाई ‘बार्व’ पनि भनिन्छ ।
राचिसको दुबैतिर मिलेर बसेका बार्वहरु छुट्टिएर एकअर्कामा खप्टिएको खन्डमा भने चराले चुच्चाको सहायताले मिलाउँछ । प्वाँखले चराको शरीरलाई तातो, चिसो र अल्ट्राभायोलेट किरणबाट बचाउँछ ।
समुद्री हाँसको पखेटामुनि नरम र भुवावस्तै प्वाँखको पत्र हुन्छ । त्यसलाई ‘डाउन’ भनिन्छ । डाउनले उच्च कोटीको ताप अवरोधक अर्थात् ‘इन्सुलेटर’को काम गर्छ यो जतिको राम्रो डाउन आजसम्म मानिसले विकसित गर्न सकेका छैनन् ।
वैज्ञानिकहरुका अनुसार आजसम्म प्वाँखको विकासक्रमलाई पुष्टि गर्ने अवशेष भेटिएको छैन । अहिलेसम्म भेटिएका अति पुराना जीवाशेषहरु र अहिले आकाशमा उडिरहेका चराहरुको प्वाँखमा खासै भिन्नता देखिँदैन । उहिले र अहिलेको प्वाँखमा खासै भिन्नता छैन । प्वाँखको उत्पति र विकासबारे अनुसन्धान भने जारी नै छ ।जेहोस् एक दिन प्वाँखको विकासक्रम तथा प्रमाणित निचोड आउनेमा भने आशा गर्न सकिन्छ ।